News Portal

काँकरभिट्टामा ट्राफिक प्रहरीको नयाँ भवन

रातोपोस्ट संवाददाता
२७९ पटक

झापा, ४ माघ । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा ट्राफिक प्रहरी पोष्टकाे नयाँ भवन निर्माण गरिएको छ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाकाे नव-निर्मित भवनको आज एक समारोहबीच उद्घाटन सम्पन्न भएको हाे । साढे २२ लाखभन्दा बढी लागतमा निर्मित भवन आज ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टालाई हस्तान्तरण गरिएको हो । भवन निर्माणमा सबभन्दा बढी आर्थिक सहयोग गर्ने विर्तामोडका उद्योगी प्रदीप मित्तलले रिवन काटेर भवन उद्घाटन गरेका थिए । उनले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल संयोजकत्वको निर्माण समितिले करिब ५ महिना लगाएर ४ कोठे पक्की भवन निर्माण गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो । आर्थिक समितिका संयोजक सुवास गुरुङले ट्राफिकलाई घर बनाउने काममा स्थानीय उद्योगी, व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार उद्योगी, व्यवसायीले गरेको आर्थिक सहयोगकै कारण छोटो समयमा घर निर्माण सम्पन्न भएको हो । मेची भन्सार कार्यालयको स्वामित्वको करिब एक कठ्ठा ४ धुर जमिनमा निर्मित भवनमा ब्यारेक, आवाससँगै इन्चार्ज कक्ष, कार्यालय तथा चमेना गृहसमेत रहेको ट्राफिक इन्चार्ज लीला श्रेष्ठले जानकारी दिए । उनले नयाँ भवन निर्माण पछि कार्य सम्पादनमा सहज भएको जनाए । ‘धेरै साँगुरो कोठामा बस्नु पर्ने बाध्यता थियो अब त्यो अन्त्य भएको छ’, श्रेष्ठले भने, ‘भवन निर्माणमा हातेमालो गर्ने सबै दाताहरुलाई धन्यवाद !’

भवन निर्माणमा नगद र जिन्सी सहयोग गर्ने १ सय २ जना दाताहरुलाई संविधानसभा सदस्य रविन कोइरालाले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कोइराला, प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे, नेकपा माओवादी केन्द्र मेचीनगरका इन्चार्ज माधव अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा भवन निर्माण समितिका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष खडानन्द भण्डारीले र सञ्चालन सल्लाहकार समिति सदस्य शुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्