News Portal

जनमुक्ति सेनाका कमान्डरलाई उपचार खर्च जुटाउन धौधौ

रातोपोस्ट संवाददाता
१४१ पटक

झापा, १ फागुन । ताप्लेजुङको साब्लाखुका सागर लिम्बू माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भइरहँदा १६ वर्ष टेक्दै थिए । जनयुद्धको उत्कर्ष २०५८/५९ ताका माओवादीकाे जनमुक्ति सेनामा भर्ती भएपछि सागरबाट उनी ‘सक्कल’ बने । गाउँमा गरिबीसँगै चरम बेरोजगारी थियो । गरिबीबाट मुक्ति पाउने आशामा धेरै युवा माओवादी बनेका थिए ।

त्यही पंक्तिमा आफू पनि उभिएको सागरले बताए । अन्ततः माओवादीले कलिलो हातमा थमाइदियो हतियार । ‘खासमा बेरोजगारी, गरिबीबाट कसरी मुक्ति मिल्ला भनेर माओवादीमा लागिएको थियो,’ सागरले सम्झिए, ‘हाम्रो त्याग र बलिदानबाट नेताहरू धनी भए, हाम्रो गरिबी उस्तै छ, बेरोजगारी उही छ ।’

त्यसबेला माओवादी नेताहरू भन्ने गर्थे, ‘समाजवाद स्थापनापछि स्वास्थ्य, शिक्षाजस्ता जनताका अत्यावश्यक आवश्यकता निःशुल्क पूरा गर्छौं ।’ माओवादी पार्टी लामो समयदेखि सत्ताको वरिपरि नै छ । तर, जनमुक्ति सेनाका कमाण्डर सागर उपचार खर्च अभावमा मृत्यु शय्यामा छट्पटाइरहेका छन् । अघिल्लो मंसिरमा दुवै मृर्गौला फेल भएपछि उनी नियमित डायलाइसिस गरिरहेका छन् । ‘कसो कसो गरेर डायलाइसिसचाहिँ निःशुल्क गराइरहेको छु,’ सागरले भने, ‘तर, औषधि किन्ने खर्च जोहो गर्नै धौधौ छ ।’

उनले सातामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने बाध्यता छ । डायलाइसिस गर्न भद्रपुरसम्म जाने बेलामा प्रायः गाडी भाडा अभाव हुने गरेको उनी सुनाउँछन् । ‘औषधि, गाडी भाडा गरेर महिनामा झन्डै ३० हजार खर्च लाग्छ,’ उनले भने, ‘ऋण काडेर खर्च जोहो गरिरहेको छु ।’ डायलाइसिस गर्न धौधौ छ । मृर्गौला फेर्ने त उनको कल्पनाबाहिरको कुरा हो । अब त ऋण पनि पत्याउन छाडिसकेको उनी सुनाउँछन् । ताप्लेजुङको मूलघरमा श्रीमती र तीन बालबच्चा छाडेर उनी झापा बुद्धशान्ति–४ जोरलावरस्थित बहिनी–ज्वाइँकहाँ घरमा आश्रय लिएर उपचार गराइरहेका छन् । सागर पटक–पटक गरी तीन ठूला भिडन्तमा सामेल भए– भोजपुरको घोडेटार, इलाम सदरमुकाम र मोरङको रमितेमा । तत्कालीन सत्तासँगको मुठभेडको त लेखाजोखा नै छैन ।

२०६३ को शान्ति प्रक्रियापछि २ नम्बर डिभिजन सिन्धुलीको क्यान्टोन्मेन्टमा ५ वर्ष बिताए । समायोजनपछि स्वैच्छिक अवकाश लिए । दुई किस्तामा ५ लाख बुझे । तर, घरायसी व्यवहार मिलाउँदा मिलाउँदै कतिखेर ५ लाख सकियो, पत्तै पाएनन् । स्वैच्छिक अवकाशपछि केही महिना घरतिर टहलिए । २०६८ चैतमा पार्टी विभाजन भयो । किनकि, जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाललाई विश्वास गर्ने आधार उनले देखेनन् । दाहालबाट जनता र जनमुक्ति सेनामाथि बेइमानी र धोका भयो भन्ने उनलाई लाग्यो । र, अन्ततः उनी ‘विद्रोही’ खेमामा सामेल भए ।

२०६९ साउनमा मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी बन्यो । दुई वर्षपछि वैद्यको पार्टी पनि विभाजित भयो । २०७१ मा विभाजित पार्टीको नेतृत्व नेत्रविक्रम चन्दले गरे । उनी चन्दतिरै सामेल भए । त्यहाँ ७/८ वर्ष सक्रिय भए । एक वर्षजति प्रतिबन्ध झेले । त्यही सिलसिलामा २०७४ साउनमा पाँचथरबाट पक्राउ परे । ब्युरोको सैन्य विभागको जिम्मेवारीमा रहेका उनी पाँथचरका सेक्रेटरी सौगात आचार्यसहित पक्राउ परी ४७ दिन प्रहरी हिरासतमा बसे । प्रदेश चुनावको विरोध गर्ने क्रममा ताप्लेजुङबाट पुनः पक्राउ परे । तेस्रोपटक २०७६ साउनमा दमकबाट पक्राउ गरी ६६ दिन हिरासतमा बिताए । पछि १ लाख धरौटी राखेर छुटे । ताप्लेजुङमा पार्टी काममा रहेका बेला उनीमाथि पुरानै मुद्दालाई आधार बनाएर पुनः पक्राउ गरी २४ घन्टा प्रहरी नजरबन्दमा राखियो । १ लाख धरौटी तिरेर छुटे ।

पछिल्लो चरणमा चन्दले तीन बुँदे सम्झौता गरेपछि उनी असन्तुष्टि व्यक्त गर्दै बाहिरिए । ‘चन्दले सत्तासँग आत्मसमर्पण गरेझैं लाग्यो । अनि बाहिरिएँ,’ उनले थपे । त्यसपछि आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा सामेल भए । राष्ट्रिय भेलासम्म सहभागी भइ दुई केन्द्रीय कमिटी बैठकमा भाग लिएपछि त्यहाँ पनि उनको मन अडिएन । वैचारिक विमति रह्यो । चन्द नेतृत्वको दल पनि धर्मेन्द्र बाँस्तोला र सुदर्शनले विभाजन गरी नेकपा बहुमत निर्माण गरे, त्यसमा सामेल भए । अहिले फेरि त्यो पार्टी वैद्यसँग मर्ज भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको छ । त्यहाँ उनको आस्था मात्रै छ । मन भने मृर्गौला उपचारमा केन्द्रित छ ।

‘लामै समय खाना नरुच्ने, जीउ गलेजस्तो हुने र खुट्टा सुन्निने भयो । स्वास बढेजस्तो हुने समस्या पनि धेरै समय देखियो,’ सागरले भने, ‘के भएछ त भनेर पूरै शरीर जाँच गर्दा पो दुवै मृर्गौलाले काम गर्न छाडेको पत्तो लाग्यो ।’ अघिल्लो वर्ष मंसिर अन्तिम साता उपचार गर्दा रोग पत्ता लागेपछि उनी नियमित उपचारमा छन् । मृर्गौला बिग्रिएर अन्तिम चरणमा पुगेपछि मात्रै थाहा पाएकामा उनलाई थकथकी लागेको छ । ‘सुरुमै जाँच गराएको भए बेलैमा थाहा हुने थियो,’ उनले थपे, ‘बिग्रिसकेपछि थाहा पाएँ तर पनि बाँच्ने आँट ज्यूँदैछ ।’

माओवादीसहित आधा दर्जन बढी कम्युनिस्ट पार्टीमा रहेर काम गरेका यी अनुभवी नेता बिरामी भइ थलिँदा कोही कसैले सोधीखोजीसम्म गरेको छैन । पार्टीहरूले किन यतिधेरै उपेक्षा गरेका होलान् भन्ने उनले भेउ पाउनै सकेका छैनन् । ‘म बिरामी भएको सबै कमरेडहरूलाई थाहै छ,’ उनले सुनाए, ‘सहयोग गर्छु पनि भन्छन् तर गरेका केही छैनन् ।’

प्रतिकृया दिनुहोस्