News Portal

इष्ट होराइजनमा क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष पढाई हुने

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, ३० बैशाख । धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविमा यस वर्षदेखि युके स्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ ।

वैदेशिक अध्ययन तथा बिश्वब्यापी अंग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्यका साथ क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो । मेचीनगरमै पहिलो पटक इष्ट होराइजन माविले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

अहिलेको बिश्वब्यापी शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले क्याम्ब्रीज कोर्षमा विद्यार्थीलाई अध्ययन गराउने अवसर प्रदान गरेको छ । होराइजनमा क्याम्ब्रीज कोर्ष कक्षा ५, ६ र ७ मा लागु गरिएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरेर होराइजन मावि र क्याम्ब्रीज बिश्वविद्यालयका प्रतिनिधिबिच अध्ययन सम्झौता गरिएको छ । सम्झौतापत्रमा विद्यालयका प्रिन्सिपल राई र क्याम्ब्रीजका प्रतिनिधि डा. रोशन राठी, प्रबिन ठाकुरबीच हस्ताक्षर गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगरका शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, क्याम्ब्रीजका प्रतिनिधि डा. राठी, प्रविन ठाकुर, तक्षशिला फाउण्डेसनका डा. भिक्टोरले बोलेका थिए ।

कार्यक्रममा क्याम्ब्रीज कोर्षका विषयमा अडियो र भिडियोमार्फत जानकारी गराइएको थियो । त्यस क्रममा प्रतिनिधिहरुले विद्यार्थीको भविष्य र दक्षता अनुसारको अध्ययनका लागि क्याम्ब्रीज कोर्ष उपयोगी हुने बताए ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत १३ वर्षमुनि उमेर समुहमा राष्ट्रिय खेलाडीमा छनोट भएका ३ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । विद्यार्थी र शिक्षिकाहरुले नेपाली संस्कार- संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक संगीता थापा र विकास ग्वालले गरेका दिए ।

प्रतिकृया दिनुहोस्