News Portal

भाेलि रातिदेखि सबै सरकारी खाता रोक्का, बजेट भुक्तानी नहुने

रातोपोस्ट संवाददाता
११९ पटक

झापा, २३ असार । सोमबार भाेलि मध्यरातिबाट सबै सरकारी खाता रोक्का हुने भएको छ । सोमबार भाेलि राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक साटिन सक्नेछन्। तर कानून अनुसार मंगलबारदेखि नयाँ चेक जारी गर्न भने पाइने छैन । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ओमप्रसाद रिजालले अर्को निर्णय नहुन्जेलसम्मका लागि सबै सरकारी खाता रोक्का गर्ने निर्णय गरेको बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यलयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर उक्त कार्यालयले खाता रोक्का गर्ने निर्णय लिएको हो ।

सोही व्यवस्था अनुसार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखानियन्त्रक कार्यालय, प्रदेश लेखानियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखानियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द हुने छन् ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द गर्ने कुरा कानूनमै उल्लेख भएको विषय भएकाले यस वर्ष खाता बन्द गर्न परिपत्र नगरेको रिजालले बताए ।

उनले भने,‘ व्यवस्थामै भएकाले हामीले परिपत्र जारी गर्नु आवश्यक ठानेनौं, अहिलेसम्मको निर्णय बन्द गर्ने भन्ने छ, भोलि रातिदेखि बजेट भुक्तानी हुँदैन।’ संघ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले सोमबारसम्ममा चालू आर्थिक वर्ष २०८०र८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने महालेखाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्