News Portal

झापामा खोलाले बगाउँदा एकै दिन ३ जना बेपत्ता

रातोपोस्ट संवाददाता
३६ पटक

झापा, ११ असाेज । खोलाले बगाउँदा झापामा एकै दिन एक बालिकासहित तीन जना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज- २ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए ।

उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका- १ का मुसे भन्ने रमेश चौधरीको छोरा ३५ वर्षीय टिकाराम चौधरी डुबेर बेपत्ता भएका छन् । शुक्रबार साँझ ७ बजे कमल १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपता भएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको छ । त्यसैगरी कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छिन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको हो । उनी अझै सम्म नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्