मेचीनगर, ६ पुष । नेपाली कांंग्रेसले गत असोज ७ गतेदेखि शुरु गरेको सय दिने विशेष सांगठनिक अभियान अन्तर्गत शुक्रबार झापाका चारवटा पालिकाको गाउँ÷नगर भेला सम्पन्न भएको छ । वडा भेला सम्पन्न गरी गाउँ÷नगर भेलामा जुटेको कांग्रेसले क्षेत्र र जिल्लाको भेला पनि तय गरिसकेको छ ।
यसै सन्दर्भमा धुलाबारीस्थित गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित मेचीनगर भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले आगामी पुस १६ गते ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर जिल्लास्तरीय भेलाको आयोजना गरी अभियान समापन गरिने जानकारी दिए । सँगै जिल्ला भेलामा सहभागी हुन सबै तहका नेता–कार्यकर्तालाई उनले आग्रह पनि गरेका छन् । कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले वडा बलियो भए मात्रै पार्टी संगठन बलियो हुने बताउँदै वडा र टोल केन्द्रित कार्यक्रम तय गरी पार्टी संगठन बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य विमल आचार्य, पूर्व जिल्ला उपसभापति राम कट्टेल, पूर्व जिल्ला सचिव प्रेम सम्बाहाम्फे, झापा क्षेत्र १ सभापति इन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरु लोकराज ढकाल, सुशीला रिजाल, रोहित बुढाथोकी, दुर्गा सापकोटा लगायतले मन्तब्य राखेका थिए । नगर उपसभापति योगेन थापा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिवद्वय मुकेश लिम्बू र मनोज घिमिरेले संयुक्त रुपमा गरेका थिए । शुक्रबार नै मेचीनगरसँगै कनकाई, गौरादह नगर समितिको भेला सम्पन्न भएको छ भने बाह्रदशी गाउँसमितिको भेला सम्पन्न भएको छ ।