मेचीनगर, ६ पुस । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ भने सो वडाका अपाङ्गता भएका नागरिकले लाभ पनि लिइसकेका छन् । नयाँ तथ्याकं अनुसार मेचीनगर ६ मा २१७ अपाङ्गता भएका व्यक्तिहरु छन् । शनिबार मेचीनगर–६ स्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको सहभागीतामा रहेको पनि जनाएका छन् ।
अपाङ्गता भएकाहरूको बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र बितरणसमेत गरिएको वडासदस्य सीमा रशाइलीले बताइन् । नगरपालिकाले अभियान कै रूपमा प्रत्येक वडामा एक–एक दिन सञ्चालन हुने गरी आयोजित १५ दिने कार्यक्रम नगरमा जारी छ । मेचीनगरले महत्वका साथ अपाङ्गताका क्षेत्रमा कार्यक्रमहरु अघि बढाएको छ । त्यसकै फलस्वरुप यो अभियान पनि एक हो । यस अभियानले जुनसुकै कारणले भएपनि राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधाबाट बन्चित भएका अपाङ्गहरुलाई पनि यस अभियानले जोड्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
त्यसैले यस अभियान सफल पार्न वडा वडामा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले चासो दिइरहेका छन् । त्यस्तै अभियान थप प्रभावकारी पार्न तथा आवश्यक सेवामा कमि नआओस भन्नका लागि स्थलगत रुपमै पुगेर समन्वय तथा आवश्यक निर्देशन दिइरहेका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनले जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध छ । शनिबार मेचीनगर ६ मा आयोजित कार्यक्रममा एक सय ६० जनाले सेवा लिएको वडासदस्य ध्रुव राईले जानकारी दिए ।