News Portal

जनयुद्धका घाइतेको गुनासो : जीवन निर्वाह गर्नै गाह्रो भयो

रातोपोस्ट संवाददाता
९९८ पटक

दाङ, साउन २३ । जनयुद्धका घाइतेहरुले आफूहरुलाई राज्यले नहेरेको गुनासो गरेका छन् । जनयुद्धमा घाइते भएका भुलबहादुर विकले आफूहरुलाई जीवन निर्वाह गर्नै समस्या भएको बताए ।

घाइते भएका कारण अन्य काम गर्न नसक्दा जीवन निर्वाह गर्न समस्या भएको उनको भनाइ छ । देशको परिवर्तनका लागि युद्ध लडेर घाइते भए पनि राज्यबाटै अपहेलित भएको उनी बताउँछन् । ‘हामीलाई राज्य भएको अनुभूति भएको छैन,’ विकले भने ।

आफ्नै पार्टी सरकारमा भए पनि आफूहरुले त्यसको अनुभूति गर्न नपाएको उनले बताए । उनले युद्धका क्रममा एउटा खुट्टा गुमाएका छन् । राज्यले घाइते तथा अपाङ्ग भएकालाई गाँस, बास र कपासको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ । उपचारमा सहयोग गरिनुपर्ने उनी बताउँछन् । राज्यले दिने ६ हजार २ सयले खाने कि उपचार गर्ने उनले प्रश्न गरे ।

‘नाङ्गै बस्ने, भोकै मर्ने अवस्था आउन थालेको छ,’ विकले भने । आफूहरुले पटक पटक आफ्नो समस्याको बारेमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनले बताए । आफूहरु सँगै युुद्ध लडेका नेताहरु आनन्नले रमाउने गरेको उनी बताउँछन् । ‘नेताहरु सामान्य उपचारका लागि विदेश जाने गरेका छन् तर हामीले स्वदेशमा समेत उपचार पाउँदैनौं,’ विकले भने ।

बंगलाचुली गाउँपालिका निवासी जनयुद्धका घाइते कुमारी नेपालीले पनि उस्तै समस्या सुनाइन् । ‘हामीले हेर्छौं भनेर भनेका नेताहरुले अहिले केही गरेनन्,’ उनले भनिन् । नेताहरुले कुर्सी पाएपछि आफूहरुलाई बिर्सिएको उनले आरोप लगाइन् ।

‘अहिले गाँस, बास, कपासकै समस्या छ,’ उनले भनिन् । बालबालिकालाई कसरी पढाउने चिन्ता उनमा छ । युद्धको क्रममा उनले एउटा आँखा गुमाएको बताइन् । एउटा आँखा गुमाएपछि अर्काे आँखामा पनि समस्या रहेको उनको भनाइ छ । राज्यले प्रदान गर्ने गरेको ६ हजार २ सय रुपैयाँ पनि काटिदिन थालेको नेपालीको गुनासो छ ।

आर्का घाइते खुसीराम चौधरीले अहिले पनि शरिरमा गोली बोकेर हिँडिरहेको बताए । अप्रेसन गर्न नसक्दा शरीरमा गोली बोकेर हिँडनुपर्ने वाध्यता रहेको उनको भनाइ छ । ‘सबै चिज पार्टी हो भनेर युद्धमा होमियो तर अहिले केही भएन,’ चौभरीले भने ।

नेपाल कम्युनिष्ट पार्टीको २ तिहाइको सरकार हुँदा पनि आफूहरुले केही नपाएको उनले बताए । ‘धेरै नेताहरु भेटिए तर केही भएन,’ उनले भने । आफूहरुलाई लडाउने, भिडाउने काममात्र भएको उनको भनाइ छ । नेता सुविधा भोगि हँुदै गएको उनले आरोप लगाए ।

जिल्लामा घाइते तथा अपाङ्गहरु साढे ७ सय जना रहेको जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगनका प्रदेश नं ५ का संयोजक खगेश्वर घर्तिले जानकारी दिए । उनीहरुमध्ये २२ जनाले राज्यबाट भत्ता पाउने गरेको उनले बताए ।

पाएकाको पनि अहिले राज्यले कटौती गरिदिन थालेको उनको भनाइ छ । राज्यले व्यवस्थान गर्ने नसकेको उनले बताए । उनीहरुले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् राज्यलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिकृया दिनुहोस्