![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
बैतडी, भदौ २७ । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।
शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ । पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ ।