News Portal

प्रधानमन्त्रीलाई वामदेवको जवाफः प्रस्ताव फिर्ता हुँदैन, कार्यशैली सच्याउनुस्

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटारमा उपाध्यक्ष गौतम प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । आजको भेटमा नेकपाभित्र देखा परेको विवादबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीले गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गर्न आग्रह गरेको प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए ।

‘प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गरिदिन आग्रह गर्नुभयो’, प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘प्रस्ताव फिर्ता नलिए संकट थप चुलिन्छ ।’ जवाफमा उपाध्यक्ष गौतमले उक्त प्रस्ताव फिर्ता नहुने जवाफ दिएका थिए । उनले उक्त प्रस्ताव पाँच जना सचिवालय सदस्यहरुको सामूहिक निर्णय भएकाले फिर्ता नहुने जवाफ दिएका हुन् ।

‘प्रस्ताव फिर्ता हुँदैन । अध्यक्ष प्रचण्डको एकल प्रस्ताव होइन र यो प्रस्ताव पाँच जना सचिवालय सदस्यहरुको सामूहिक छलफलबाट निस्किएको प्रस्ताव हो’, उनले भने । गौतमले प्रधानमन्त्री ओलीलाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । उनले प्रस्ताव फिर्ता गर्नुभन्दा पनि कार्यशैली सच्याएर आफू पनि सच्चिन आग्रह गरेका छन् ।

‘मसँग भनेर केही हुँदैन । बैठकमा सबै कुरा राख्नुस् । प्रस्ताव भन्दा पनि तपाईको कार्यशैली सच्चिनुपर्छ’, उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले भने, ‘तपाईको कायैशली सच्चिन्छ भने यो प्रस्ताव स्वतः फिर्ता हुन्छ नत्र हुँदैन ।’ अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारयणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई विरुद्ध एक भएर जाने सहमति अनुसार उक्त प्रस्ताव तयार पारेका थिए ।

प्रतिकृया दिनुहोस्