News Portal

जबरजस्ती करणीको घटनामा ५ लाख दिई मिलापत्र गराएकाे अभियाेगमा ६ जना पक्राउ

रातोपोस्ट संवाददाता
६६८ पटक

मोरङ, २६ मङ्सिर। २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका-८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।

गत भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार रहेका थिए। अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टाेलीले मङ्सिर १९ गते रंगेली नगरपालिका-७ रंगेली बजारबाट पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई  नगद दिई मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागज सहित आ-आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्