News Portal

दृष्टिविहिन मगर परिवारकाे सहारा बने वडा अध्यक्ष तामाङ

रातोपोस्ट संवाददाता
२८९३ पटक

झापा, २७ फागुन । झापाको मेचिनगर -६ स्थित बद्री टोलमा दृष्टिविहिन परिवारलाई वडा अध्यक्षले घर बनाइ दिएका छन् । मेचिनगर -६ बद्री टोलका दृष्टिविहिन खुब बहादुर बुर्जा (मगर) को घर मेचिनगर वडा नम्बर- ६ का वडा अध्यक्ष ललित बहादुर तामाङले घर बनाइ दिएका हुन ।आफ्नो व्यक्तिगत खर्च १ लाख ५० हजार रुपैया लागतमा घर निर्माण सम्पन्न गरी आज तामाङले दृष्टिविहिन परिवारलाई हस्तान्तरण गरेका छन्। वडा अध्यक्ष  तामाङ नेपाली काग्रेसबाट जनप्रतिनिधि भएका हुन ।

लामो समयदेखि भाडामा बसेका मगरको परिवार घर पाएपछि अत्यन्तै खुसी भएका छन्। मगर परिवारमा उनका श्रीमती सहित ४ छोरा र २ छोरी रहेका छन् । माइलो छोरा भने शारिरिक रूपमा अपांग रहेका छन् । मगर परिवारको आर्थिक अवस्था भने ज्यादै नाजुक रहेको छ । दुष्टिविहिन खुब बहादुरले खुसी हुँदै भने, मलाई त सपना जस्तो लागेको छ । मैले कहिल्यै सोचेको थिइँन मेरो आफ्नै घर, ट्वाइलेट,  बाथरूम  भएको घर मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । आज यि सबै मैले नसोचेको कुराहरू प्राप्त गरेको छु । वडा अध्यक्षले मेरा सपना भन्दा बाहिरको कुरा पुरा गरिदिँदा मैले अविभावक पाए जस्तो लागेको छ । मैले उहाँको यो गुण कहिल्यै तिर्न सक्दिन होला उहाँ मेरो लागि त भगवान सरह हुनु भयो ।  यतिबेला नयाँ घर पाएपछि मगर परिवारमा खुसियालि छाएको छ ।

उनकी श्रीमती पुर्ण कुमारी मगरले घर देखाउँदै भनिन्, हामी अर्काको घरमा बसिरहेको मान्छे आज आफ्नै घरमा बस्न पाउँदा ज्यादै खुसी भएका छौँ । मैले त सोच्न पनि सकि रहेको छैन, यो मेरो घर हो भनेर । परिवार भित्र सबैमा खुसी छाएको छ । हाम्रो लागि वडाध्यक्ष देउता भएर आए जस्तो लागेको छ । दृष्टिविहिन खुब बहादुरले भावुक हुँदै भने, आजसम्म राज्यबाट कुनैपनि सेवा सुविधा पाएको छैन । तर यसपालि भने वडाध्यक्षको पहलमा केहि सेवा सुविधा पाउने आशा गरेको छु ।

स्थानीयवासी सार्कि दनुवार (रविलाल ) भन्छन्, वडा अध्यक्षले हाम्रो टोलमा दृष्टिविहिन परिवारलाई घर बनाइ दिएर ठुलो गुण लगाउनु भएको छ । उहाले लगाएको भएकाे यो गुणलाइ हाम्रो टोलवासीले  सधै सम्झि रहने छ ।

वडा अध्यक्ष  तामाङ भन्छन्, वडामा सबै विपन्न परिवारहरूको घर बन्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले अहिले दृष्टिविहिन मगर परिवारको घर निर्माण गरिदिएको हुँ ।

एक लाख ५० हजार रूपैयाँको लागतमा ट्वाइलेट बाथरूम सहित तिन कोठाको घर निर्माण गरेर शिवरात्रीकाे दिन साहीत निकाली आज दृष्टिविहिन परिवारलाई हस्तान्तरण गरेको हुँ । उनका अनुसार आफुले पाउने विभिन्न नगर सभा तथा बैठकबाट पाउने भत्ताबाट उक्त घर निर्माण गरी दिएका हुन् । घर निर्माण गर्दा स्थानिय ब्यत्तिहरुकाे समेत सहयाेग रहेकाे वडा अध्यक्ष तामाङले बताए ।

प्रतिकृया दिनुहोस्