News Portal

पूर्वीनाकामा बढ्दो तस्करी : तस्करसम्म किन पुग्दैन प्रहरी ?

नवराज सुवेदी
६८ पटक

झापा, २८ बैशाख । झापाको पूर्वीनाका अन्तर्गतका विभिन्न सीमा क्षेत्रबाट तस्करी बढिरहेको छ । केही दिनको अन्तरालमा पटक–पटक गरेर लाखौँको अवैध सामान प्रहरीले बरामद गरको छ । अवैध सामान ओसारपसारले यहाँबाट लाखौँ रकम बरारबको तस्करी भइरहेको स्पष्ट छ ।

गएको बैशाख १८ गते काँकरभिट्टा आसपास क्षेत्रबाट ३८ लाख बरारबको अवैध कपडा नियन्त्रणमा लिएको प्रहरीले बुधबार र बिहीबार गरी करिब १३ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ । बुधबार बेलुका मेचीनगर ७ धनकुटे बस्तीबाट दुई लाख ९० हजार बराबरको अवैध लाइटर प्रहरीले बरामद गर्यो भने बिहीबार विहान मात्रै उत्तरी मेचीनगर अन्तर्गतको तिरिङ क्षेत्रबाट १० लाख बरारबको अवैध लत्ताकपडा बरामद गर्यो ।

यसरी एकपछि अर्को गर्दै प्रहरीले बरामद गरेको अवैध सामग्रीले नै पुष्टि गर्छ कि पूर्वीनाकाबाट निरन्तर तस्करीको क्रम बढ्दो छ । तर, यसरी निर्वाध रुपमा तस्करी कसले गरिरहेको छ ? सीमा क्षेत्रमा रहेको यत्रो सुरक्षा संयन्त्रबीच पनि लाखौँको अवैध सामानको ओसारपसार सम्भव छ ? यसरी भइरहेको तस्करी नियन्त्रण गर्न प्रहरीले के कस्तो कदम चालिरहेको छ ? प्रहरीको अनुसन्धान किन वास्तविक तस्कर समक्ष पुग्न सकिरहेको छैन ?

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्द खुला सीमानाका कारण तस्करी गर्ने व्यक्ति पक्राउ गर्न असहज भएको स्वीकार्छन् । यद्दपि, तस्करी गर्ने व्यक्ति पक्राउ परेको अवस्थामा अनुसन्धान गर्ने, कारवाही गर्ने गरिएको उनको भनाई छ । ‘विशेष सूचनाका आधारमा प्रहरीले अवैध सामानहरु बरामद गर्छ । त्यस्तो अवस्थामा व्यक्तिहरु सामग्रीसँग भेटिँदैनन्,’ उनी भन्छन्, ‘व्यक्तिसँगै अवैध सामान पनि पक्राउ गर्ने हाम्रो उद्देश्य हो तर, कतिपय अवस्थामा त्यस्तो हुँदैन । खुला सीमाना पनि अर्को चुनौति छ ।’

खुला सीमा रहेकाले प्रहरी देख्नासाथ तस्करहरु सामान छाडेर भारततर्फ भागिहाल्ने भएकाले पनि तस्करसमक्ष पुग्न नसकेको उनी बताउँछन् । यद्दपि, तस्करी नियन्त्रण गर्न सम्पूर्ण सुरक्षा निकाय सँधै सक्रिय रहेको उनको दाबी छ । ‘तस्करी नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, पैदल गस्ती सबै संयन्त्र मार्फत सुरक्षा निकाय सँधै सक्रिय छ,’ उनी भन्छन् ।

प्रतिकृया दिनुहोस्