News Portal

तेस्रोपटक कोशीका मुख्यमन्त्री बनेका हिक्मत कार्की

रातोपोस्ट संवाददाता
४७ पटक

मोरङ, २८ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की तेस्रोपटक नियुक्त भएका छन्। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता रहेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले दिउँसो नै मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बुधबार राति अबेर प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्दै शुक्रबार बेलुका ५ बजेसम्मका समय दिएका थिए। सोही क्रममा गठबन्धन दलतर्फबाट कार्की बिहीबार बिहान एमाले र माओवादीका ५२ जना प्रदेश सांसदसहितको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि दाबीमा उपस्थित भएका थिए। यससँगै कार्कीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ९३ जना प्रदेश सांसद रहेको कोशीमा सरकार गठनका लागि ४७ जना सांसद आवश्यक हुन्छ।

कार्कीको जन्म २०२१ साल असोज ११ गते झापाको गौरादह नगरपालिकामा भएको हो। पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको तेस्रो सन्तान कार्कीको परिवारमा आमासहित दाजुभाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन्।

स्थानीय जनता माविमा प्रवेशिका अध्ययन गरेका कार्कीले ०४२ सालमा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएल अध्ययन गरेका हुन्।

अनेरास्ववियुबाट विद्यार्थी राजनीति अघि बढाएका कार्कीले धरानमा आइएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर काठमाडौंस्थित नेपाल ल क्याम्पसमा स्नात्तकोत्तर तहको अध्ययन पूरा गरेका हुन्। विद्यार्थी राजनीति गर्दै उनले ०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिए। कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं रास्ट्रीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन्।

पार्टीको पाँचौं राष्ट्रीय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमाण्डमा खटिँदै उनी केन्द्रीय राजनीतिमा होमिएका हुन्। पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१/२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी वहन गरिसकेका कार्की संविधानअनुकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिकामा रहे। यसअघि, २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५(१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्रिपरिषद्‌मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारीमा रहे।

करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कार्की राजनीति फेरबदलसँगै २०७८ साल भदौ १० गते सरकारबाट बाहिरिएका थिए। त्यसपछि, २०७९ साल मंसिर ४ गते सम्पन्न दोस्रो प्रदेश सभा निर्वाचनमा कार्की झापाको सोही क्षेत्र नम्बर ५(१) बाट दोस्रोपटक निर्वाचित भए। यससंगै उनी पहिलोपटक २०७९ साल पुस २४ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशमा भएको राजनीतिक जोड घटाउका क्रममा उनी मुख्यमन्त्रीबाट बाहिरिएपछि दोस्रोपटक २०८० साल भाद्र २२ गते पुनः मुख्यमन्त्री भए। त्यसपछि उनले २०८० असोज २० गते राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्