News Portal

माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन

रातोपोस्ट संवाददाता
५११ पटक

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना ६ जना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । शनिबार बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको हो ।

केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका गृहमन्त्री बादल, उर्जामन्त्री रायमाझीसहित २३ जना नेतालाई एमालेको विभिन्न विभागमा मनोनयन गरेपछि माओवादीले सरकारमा सहभागी नेताहरुलाई फिर्ता हुन निर्देशन दिएको हो ।

यस्तै माओवादी केन्द्रले गृहमन्त्री बादल, उर्जामन्त्री रायमाझी, खानेपानीमन्त्री थापा, सिँचाइमन्त्री साहलाई स्पष्टीकरण पनि सोधेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ । यस्तै बैठकले आइतबार ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ भने चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्