News Portal

धुलाबारीमा चैत ७ गतेदेखि नकआउट फुटवल प्रतियोगिता हुँदै

रातोपोस्ट संवाददाता
५२३ पटक

धुलाबारी, २९ फागुन । रोलिङ क्लब धुलाबारीको आयोजनामा आगामी चैत ७ देखि १४ गतेसम्म चौँथो प्रदेश स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो संस्करणको हो । पुरस्कार राशी बढाएर चौथो संस्करणको प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न आयोजक तयारीमा जुटेको क्लबद्वारा शनिबार धुलाबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका सचिव महेश खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक रोलिङ क्लब धुलाबारीसहित रेडहर्स इलाम, शिवसताक्षी फुटवल क्लब झिलझिले, न्यू स्टार फुटवल क्लब सुनसरी, चारआली-धाइजन फुटवल क्लब मेचीनगर, सशस्त्र प्रहरी बल (एपीएफ) पकली, पथरी फुटवल क्लब मोरङ र कणर्सिंह सोनाम फुटवल क्लब ताप्लेजुङको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं. १० रहेको छ । अन्य रकम खेल प्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिनेछ ।

क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका उपाध्यक्ष इन्द्र आङ्दाम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस्