News Portal

सुन्दरमणि दीक्षित भन्छन्, अहिलेका लागि प्रधानमन्त्री बन्ने उत्तम पात्र महन्त ठाकुर

रातोपोस्ट संवाददाता
३८१ पटक

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र महन्थ ठाकुर हुने उल्लेख गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने र सरकारको नेतृत्व लिन लोभ देखायो भने कांग्रेस पनि पुरै नाङ्गिने उनको भविष्यवाणी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार निरन्तरता चाहने हो भने विश्वासको मत लिनुपर्ने अवस्था अहिले आएको सुनाउँदै यदि विश्वासको मत लिन ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्नेमा जोड दिए। संविधानले तत्काल चुनावमा जान नभनेको पनि उल्लेख गर्दै उनले भने, ‘अहिले मुलुकलाई एकदमै असल प्रधानमन्त्री चाहिएको छ। ठूलो प्रोगाम चलाउनु छैन। स्थिरता विश्वासका साथ लग्नुपर्छ।’

उनले यसका लागि जसपाका अध्यक्ष ठाकुर नै उपयुक्त पात्र भएको उल्लेख गरे। ‘महन्थजी कांग्रेसबाट आएका हुन्। उनमा भ्रष्टाचारको दाग छैन। भारतको नरसिंह रावजस्तै हुन्। सबैलाई मिलाएर लैजाने व्यक्ति हो। प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन। संसदको झैझगडा हुँदैन। कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ। जसपामा उपेन्द्र यादव, राजन्द्र महतो पनि छन्। तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ। यदि ओलीले मत पाउन सक्नुभएन भने, कांग्रेस यता लाग्नुहुँदैन। ठाकुरले सबै दलललाई मिलाएर सरकार बनाउनुपर्छ। चुनावी सरकार हुन्छ। सर्वदलीय सरकार बनाउनुपर्छ। मैले त यही निकास देखेको छु,’ दीक्षितले भने।

उनले संसदले सरकार बनाउने कुरामा पटक्कै विकल्प दिन सकेन भने मुलुक चुनावमा जान सक्ने पनि बताए। तर, तत्काल चुनावमा जाने अवस्था नभएको उनको भनाइ छ। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दीक्षितको बुझाइ छ। उनले कांग्रेस सरकारमा होइन पार्टी बलियो बनाएर चुनावमा जानु नै फाइदाजनक हुने सुझाव दिए।

प्रतिकृया दिनुहोस्