News Portal

कीर्ते नागरिकताकाे आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

रातोपोस्ट संवाददाता
३६८ पटक

दाङ, २१ असार । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा दाङमा वडा अध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई पक्राउ गरिएको हो ।

भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।

नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो । नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । यस कार्यमा भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्