News Portal

एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो, पतिसहित पाँच पक्राउ

रातोपोस्ट संवाददाता
५८६ पटक

जनकपुरधाम, २७ असार । महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेकाे हाे।

घर परिवारका सदस्यहरुबाटै उनकाे गएकाे जेठ २० गते हत्या भएकाे प्रहरीले जनाएकाे छ। हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा पतिराम ठाकुरको जग्गामा निर्माणाधीन शाैचालयकाे सेफ्टी ट्यांकीमा फेला पारेको हो।

शव लुकाउन पहिले गाडिएको स्थानबाट निकालेर फेरि सेफ्टी ट्यांकीमा गाडिएको प्रहरीले जनाएकाे छ। आफ्नै जग्गामा शव गाडेर त्यसमाथि सेफ्टी ट्यांकी निर्माण गराउन लगाएको र त्यसपछि सिमेन्ट बालुवाले समेत ढलान गरिसकेको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

आधा गलिसकेको अवस्थामा भेटिएकाे शव सुजाताकै रहेकाे परिवारका सदस्यले पुष्टि गरेका छन्। यसअघि शव फेला परेको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा प्रहरीले उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फेला फरेको थियो।

असार १३ गते प्रहरीले सुजिताको परिवारको खेतमा उत्खनन् गर्दा कपाल, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भने भेटाउन सकेको थिएन। यस घटनामा प्रहरीले सुजिताका देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरसहित पाँचजनालाई पक्राउ गरेको छ। पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीकी सुजिताको ६ वर्ष अघि भ्रमरपुराका मुकेश ठाकुरसँग विवाह भएको थियो

प्रतिकृया दिनुहोस्