News Portal

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अधिवेशनमा रूपान्तरण गर्ने निर्णय

रातोपोस्ट संवाददाता
५६३ पटक

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटीको उक्त निर्णय भोलि बिहान ८ बजे बस्ने केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराइने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । केन्द्रीय कमिटी बैठक पेरिसडाँडामै बस्नेछ । राष्ट्रिय सम्मेलन अधिवेशनमा रूपान्तरण भएसँगै त्यो पार्टीको आठौँ अधिवेशन हुने उनले बताए । त्यसको उद्घाटन भोलि दिउँसो ३ बजे गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि, यही पुस ११ अर्थात् भोलिदेखि १३ गतेसम्म काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन तय गरिएको थियो । सोही मितिमा हुने गरी राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले त्यसमा अरू पार्टीका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण नगरिने नेताहरूले बताएका थिए ।

प्रतिकृया दिनुहोस्