News Portal

सातदोबाटोलाई हराउँदै त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

रातोपोस्ट संवाददाता
४८८ पटक

झापा, २७ फागुन । बिभागिए टिम त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान एक एक गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए ।

बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा २७ औं मिनेटमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।

५९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई दुई एकले अगाडी राखे । टंक बस्नेतले दिएको पासमा सन्तोषले गोल गरे । त्यसपछि तीन मिनेटको फरकमा टेकबहादुर बुढाथोकीले दुई गोल गर्दै आर्मीको जितलाई सहज जित दिलाए । जसमा ८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो गोल गरे । उनले युद्ध शाहीको फ्रिकिकमा नवयुग श्रेष्ठ फ्लिक हेडर गरेपछि टेकबहादुर गोल गरेका हुन् । ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपे ।

आर्मीले सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्