News Portal

पत्रकार उपचार सहयोग कोषमा योञ्जनद्वारा ५ हजार ५५ रुपैयाँ सहयोग

रातोपोस्ट संवाददाता
७८४ पटक

झापा, ६ चैत । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले आफ्नो जन्म दिनको अवसरमा आज प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै उनले संगठन र कोषको सुदृढिकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए । सुर्योदय टेलिभिजनको सभाहलमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा टेलिभिजनका समाचार संयोजक समेत रहेका योञ्जनले आफु बिरामी परेका बेला कोषको महत्व बुझेर पनि सहयोग गरेको प्रष्ट पारे ।

प्रेस चौतारी झापाका पूर्व अध्यक्ष, उपचार कोषका परिकल्पनाकार तथा कोषका सदस्य गोपाल काफ्लेलाई योञ्जनले उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीका सदस्यद्वय विष्णु मैनाली उप्रेती र रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियार लगायतको उपस्थितिमा रकम हस्तान्तरण भएको हो ।

कोषमा आवद्ध सदस्यहरु बिरामी परेको समयमा थोरै भएपनि आर्थिक सहयोग गरेर उसलाई राहत दिने उद्देश्यले स्थापना गरिएको कोषमा चालु आर्थिक वर्षभित्र कम्तीमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएकोे कोषका निवर्तमा संयोजकसमेत रहेका काफ्लेले जानकारी दिए । कोषको सदस्य बन्न झापाका सबै पत्रकारलाई आग्रह गर्दै काफ्लेले आफूसँग जोडिएको विशेष दिनलाई स्मरणीय बनाउन कोषमा रकम सहयोग गर्न सकिने सुझाव दिए ।

प्रतिकृया दिनुहोस्