News Portal

यस्तो छ तमलोपाको चुनावी घोषणा पत्र

रातोपोस्ट संवाददाता
३६९ पटक

जनकपुरधाम, १२ चैत्र । आगामी निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित तराई मधेस लोकतान्त्रिक पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार जनकपुरधाममा एक अन्तरक्रिया कार्यक्रमका बीच पार्टी अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंहले संयुक्त रुपमा सो १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन । घोषणा पत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख गरिएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको भन्दै १० प्रदेशीय राज्य पुनःसंरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेस विकासको निमित्त दिर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समावेश गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निमित्त तयार रहन नेता तथा कार्यकर्ता निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्