News Portal

पहिला धान, अहिले जै घाँस सखाप

नवराज सुवेदी
६४० पटक

झापा, २५ चैत । गत कात्तिकमा भएको बेमौसमी बषाका कारण झापा मेचीनगर २ का पुर्ण बहादुर खड्काले ठुलो क्षती व्यहोरे । शुरुवाती कात्तिकमा अविरल बर्षा हुदाँ उनको १ विगाह खेतमा लगाएको धान काट्ने बेला भएको थियो । तर निरन्तरको झरीले ठुलो मात्रामा धान नष्ट गरिदियो । जुन क्षतीको राहत उनले अझैसम्म पनि प्राप्त गर्न सकेका छैनन् ।

उनको धान खेतमै नष्ट भइरहँदा सरकारले सबै किसानलाई राहत दिने घोषणा गरेको थियो । तर त्यो घोषणा घोषणामा मात्र सिमित भएको उनको भनाई छ । “खोइ किसानका नाममा ठुला ठुला आश्वासन बाँड्ने सरकारसगँ के आश गर्नु ? अब त आस लाग्न पनि छाडेको छ ।” उनि भन्छन “धान नष्ट हुदाँ त्यत्रो ठुलो आश देखाएको सरकारले अझै केहि दिएको छैन । किसानका समस्या कसले सुन्ने ?”

यसरी धान नष्ट हुदाँकै राहत प्राप्त गर्न नसकेका उनलाई अहिले फेरी अर्को बिपत्ती आइलागेको छ । गत शनिबार भएको मुसलधारे बर्षाले उनले १ विगाह बगर खेतमा लगाएको जै घाँस कामै नलाग्ने बनाइदिएको छ । २० २५ मन बिउ उत्पादन गर्ने लक्ष्य राखेर उनले लगाएको जै घाँस केहि समयको बर्षाले नष्ट गरिदिएको हो ।

गत शनिबार उत्तरी मेचीनगरमा ठुलो बर्षा भयो । मेचीनगर २ को भृकुटिभन्दा दक्षिणको क्षेत्रमा बर्षा नभएपनि उत्तरी क्षेत्रमा भने ठुलो बर्षा भयो । त्यतिबेला उनको खेतमा जै घाँस काटेर राखिएको थियो । तर अचानक बर्षा भएकाले काटेर राखेको जै घाँस उनले थन्क्याउन पाएनन् । “उठाउँला भनदाभन्दै मुसलधारे पानी आयो, अब त पानीले भिजेर सबै कालो भएको छ ।” भिजेको जै घाँस देखाउँदै उनले भने “यो त अब कामै लाग्दैन ।”

उत्तरी मेचीनगर जंगली हात्तीबाट प्रभावित क्षेत्र पनि हो । तर उनले हात्तीबाट पनि बाली जोगाएका थिए जसलाई बर्षाले नष्ट गरिदियो । बर्षाले पुर्णबहादुर जस्ता धेरै किसानलाई क्षती पु¥याएको छ । मेचीनगर २ कै हरीभक्त चापागाँइले लगाएको जै घाँस पनि बर्षाले नष्ट गरिदिएको छ । उनले पनि अर्को साललाई पुग्ने बिउ उत्पादन गर्ने लक्ष्य राखेर ७ कट्ठा जग्गामा जै घाँस लगाएका थिए ।

“बिउ किन्न नपरोस भनेर दुःख गरेर बाली हुर्काइयो, तर अचानकको बर्षाले सखाप भयो ।” भक्तबहादुर भन्छन “अब बर्षभरी गाइवस्तुलाई के खुवाउने भन्ने चिन्ता थपिएको छ ।” भक्तबहादुरको गोठमा अहिले ३० वटा बाख्रा छन् भने गाइ, भैँसी पनि उनले पालेका छन् । तर बर्षभरी खुवाउने कुटी नष्ट हुदाँ अब वस्तुलाई के खुवाउने उनि अन्योलमा छन् । उनि भन्छन् “हरेक बर्ष यसरी बाली लगाइन्थ्यो तर यसबर्ष जस्तो त कहिल्यै जानेको थिएन ।”

जै घाँस विशेषगरि गाइवस्तुलाई खुवाउने गरिन्छ । गाइवस्तुका लागि यो पौष्टिक आहार पनि हो । धानको जस्तै बोट र बाला हुने भएकाले यसलाई शुरुमा धानको जस्तै गरेर झारीन्छ र परालको भागलाई मसिनो कुटी बनाएर राखिन्छ अनि गाइवस्तुलाई खुवाउने गरिन्छ । कात्तिकमा बाली लगाइने यो घाँसको बिउ किन्नका लागि पनि सहजै पाइँदैन । किसानहरुका अनुसार सहजै उपलब्ध नहुने यस घाँसको बिउ महँगो पनि पर्छ । जसका कारण किसानहरु आफैँ बिउ उत्पादन गर्छन् ।

प्रतिकृया दिनुहोस्