News Portal

काँकरभिट्टामा ८० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

रातोपोस्ट संवाददाता
६६३ पटक

झापा, २५ चैत । करिब ४ लाख मूल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा-९ बस्ने २५ वर्षीय राजीव रायमाझी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका रायमाझीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ८० ग्राम ब्राउन सुगर र नगद ५ हजार बरामद भएको थियो ।

एक ग्राम ब्राउन सुगरको नेपाली बजार मूल्य कम्तीमा ५ हजार पर्छ । ८० ग्रामको करिब ४ लाख रुपैयाँ पर्न जान्छ । यता, पक्राउ परेको उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्