News Portal

झापा सुपर लिग क्रिकेट विराटको विजयी शुरुवात

रातोपोस्ट संवाददाता
५७४ पटक

झापा, ३ बैशाख । विराट वरियर्सले झापा सुपर लिग क्रिकेट प्रतियोगितामा शनिवार विजय शुरुवात गरेको छ । सनराइज काँकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराटले विजय शुरुवात गरेको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई व्याटिङका लागि निम्तो गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रनको लक्ष्य खडा गर्दा अर्न्तराष्ट्रिय खेलाडी पवन सरार्फले ४३ वल खेलेर ५४ रन बनाए । प्रनिश विमलीले २५, भूपाल डाँगीले १९ र शुभांकर उराउले १६ रन जोडे ।

वलिङतर्फ विराटका विवेक यादव, सिद्धान्त लोहनी र सुमित न्याैंपानेले २/२ तथा आभास तिम्सिना र विपिन महतोले १/१ विकेट झारे ।
सनराइजले दिएको लक्ष्य विराटले १६ दशमलव ४ ओभरमा पुरा गर्यो । सोनु अन्सारीले ३३ वलको सामना गरेर ५४ रन जोडे । त्यस्तै, अनिल लामिछानेले ३४, सिद्धान्त लोहनीले १६ वलमा ३३ तथा अन्तिम सुवेदीले १५ रन बनाए ।

वलिङमा सनराइज काँकडभिट्टाका विराट डाँगी र शुभंकर उराउले १/१ विकेट लिए । अलराउण्डर प्रदर्शन गर्ने विजयी टोलीका सोनु म्यान अफ दि म्याच बने । क्यानका सल्लाहकार नरेश श्रेष्ठले उनलाई ३ हजार नगद पुरस्कार हस्तान्तरण गरे । प्रदेश १ मा पहिलो पटक आयोजना भएको यो प्रतियोगितालाई मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । आइतवार विर्तामोडको बोस्टन ब्लास्टर्स र धुलावारी टाइगर्सवीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडझिट्टावीच दोश्रो खेल आयोजना हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जनाए । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना र शिवशत्ति ग्रुपको रसोई तोरी तेलले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लाका ५ वटा क्लबको सहभागिता रहेकाे छ ।

प्रतिकृया दिनुहोस्