मेचीनगर, ८ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरि एकैचोटी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।मेचीनगरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन अधिकृत वेदराज फुयालको कार्यालय मेचीनगर नगरपालिका कार्यालयको माथ्लो तलामा स्थापना गरिएको हो ।
उनले कार्यालयको स्थापनासँगै मेचीनगरका राजनीतिक दल, सञ्चारकर्मी र नगरपालिकासँग समन्वय गरेर काम गर्ने बताए ।कार्यक्रममा फुयालले स्थानीय तह निर्वाचन कार्यक्रम, उम्मेद्वार स्वघोषणा फारम र आचारसंहिताका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले निर्वाचन कार्यालयलाई आफ्नो कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।कार्यक्रममा मेचीनगरका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्ने र शनिवार २ वजे पुनः राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गर्ने सहमति समेत भएको छ । कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत फुयाल र सञ्चालन सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले गरेका थिए ।