News Portal

नेकपाका केन्द्रीय सदस्य सुमनसिंह भन्छन् : चुनाब कार्यनितिक मामला हो !

रातोपोस्ट संवाददाता
९०४ पटक

काठमाडौं, १६ बैशाख । यतिबेला हाम्रो पार्टिमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टी प्रती आकांक्षा राख्ने श्रमजिवी जनतालाई दुखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बिचका खेलाडीहरुलाई रोमान्स अनुभूति भएको होला । सिद्धान्तका डिङ हाक्नेहरुलाई यो बेला आफुलाई बिक्न निक्कै सहज बनेकै छ । आम जनता हामीलाई आशाको नजरले हेर्छन ।

हाम्रो नीति र हाम्रो नेतृत्व प्रति बिश्वस्तताको उचाई आज कोहि पार्टी र नेतासंग छैन यो नै सत्य हो । तर, अन्तिम सत्य होईन । यदि हामीले बाटो विरायौं भने अवश्य अर्को बिकल्प जन्मन्छ, जन्माउनु पर्छ नै तर नीति र नेतृत्व सहि होउन्जेल अर्को बिकल्प म हु भनेर कसैले दाबी त गर्न सक्छन तर, खडा हुन सक्दैनन । यसको अर्थ कसैको बुझाई प्रतिको निषेध होईन । बस्तु बिकासको नियमले नै यसै भन्छ । हाम्रो पार्टिमा देखिएको छताछुल्ला बिबादसंगै कुण्ठा प्रेरित बिभाजन, हाम्रो बैचारिकी र नेतृत्वदायी दरिद्रता छताछुल्ल भएको छ ।

बिबाद सिद्धान्तको जगमा छैन

जो सबैले दिनको चारवटा अन्तर्वार्ता मिडियामा हेर्न पाएकै छौं । बस्तुलाई बुझ्ने ठिक चेतना हामीसंग छ भने दुधको दूध पानीको पानी अगाडि प्रस्तुत छ । एकीकृत जनक्रान्तिलाई जस्ताको तस्तै बोध गर्ने र कार्यनितिलाई सोही अनुरुप बुझ्ने र कार्यन्वयन गर्ने क्षमता प्राबिधिक होईन, सैद्धान्तिक मामला हो । आरोप जता लगाए पनि भयो तर वाकयुद्धमा खरो गरि एकपक्षिय ढंगले उत्रीएका कमरेडहरुको कुरा सुनेपछी सिद्धान्तको कुरा कम कुण्ठाप्रेरित बिक्षिप्तता स्पष्ट देख्न पाईन्छ ।

चुनाब रणनितिको मामला होईन । यो अस्थायी कार्यनिती हो । सधै बहिस्कार भनिरहनु वा सधै प्रयोग भनिरहनु बरु यी दुबै अति रणनिती बन्न सक्छन । अहिलेको सन्धर्भलाई हेरेर समाजलाई बुझ्नु र आफ्नो आत्मगत अवस्थालाई हेर्दै कार्यनिती बनाउनु पर्छ । धेरै कुरा छैन- विश्व दुई ध्रुबमा स्पष्ट भएको ब्यबहारिक प्रमाण युक्रेन युद्ध । एमसिसी हुँदै आन्तरिक नियन्त्रण भन्दा बाहिर गैसकेको देशको राजनिती । संसदिय ब्यवस्था र संसदबादीहरुको रास्ट्रघातमा पतन । र जनता बिकल्पको लागि तयार बनेको परिस्थिती । सबै छ्याङ्ग नखोलौं, तर यी सन्धर्भहरुलाई बुझाईदिंदा एउटा सामन्य मानिसले पनि छर्लङ्ग देख्न सक्छ अब के हुन्छ र के गर्नु पर्छ ।

हो हामीले चुनाब प्रयोगको कार्यनिती तय गर्यौं । एमसिसी र रास्ट्रघात बिरोधी स्वतन्त्र उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने । संसदिय ब्यवस्थाको भण्डाफोर गर्ने । यो निर्णय हामी सबैले एकमतले गर्यौं । र यो किन ? दस्ताबेजले अझ राम्रोसंग स्पष्ट गरेको छ । तर यसको ब्याख्यालाई यति मनोगत बनाउंदै लगियो यो हेर्दा लाग्छ जेलबाट ल्याएको ब्रह्माश्त्र त यो नै रहेछ । सहभागी गराउने भनेको घरमा सुत्ने अनि कोहि स्वतन्त्र उठे भने सहयोग गर्ने भनेको हो ? वा महान दार्शनिक बन्दै रोईलो गर्दै कोठाकोठा चाहार्ने भनेको हो ! वा के हो ? तर हामी के बुझ्छौं भने स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवार बनाउने र त्यो मंचलाई प्रयोग गरेर ध्रुबिकरण बढाउने, संगठनलाई बिस्तार गर्ने, जनतालाई हाम्रो नितिको वरिपरि गोलबद्ध हुन सहज बनाईदिने र क्रान्तिको समग्र परिस्थितिको नेतृत्व गर्ने तहमा पार्टिलाई सुदृढ गर्ने यहि हो यसको मक्सद ।

हामीलाई भन्दा कयौ ज्यादा सचिबालयका सदस्यहरुलाई महासचिवले बिस्तारमा भन्नू भएको छ । तर उहाहरु तयार हुनु हुन्न यसलाई बोध गर्न र उंहाहरु त्यही रटान लांउदै हुनुहुन्छ कि चुनाब प्रयोग पछि हामी संसदबादमा फंस्छौं ! यस्तो लाग्नेहरुले आफैलाई प्रश्न गरुन- के म यति काचो र कमजोर छु ? के मैले बनाएको पार्टी यती कमजोर धरातल र कमजोर बस्तुगत सभावानामा अवस्थित छ ? जवाफ के आउँछ यसलाई यान्त्रिक वा जडशुत्र अतिले नहेरी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेरौं ।

हामी सबैले पार्टी यो देशको बिकल्पको रुपमा अगाडि आएको रिपोर्ट सगर्व राख्ने गरेका छौं । उसो हो भने यसले नेतृत्वदायी भुमिकामा बसेर सम्पुर्ण संभावनाको परिचालन गर्नु पर्छ कि पर्दैन ? हामी चुनाब बहिस्कार पनि गर्न सक्थ्यौं । तर प्रयोग वा बहिस्कार मध्ये अगाडि देखापरेको क्रान्तिलाई फाईदा पुग्ने संभावनालाई कसले फाईदा पुर्याउंछ ? यो भेउ नपाएपछी होस गुम भएका र्यापर जस्तो मात्र भएको स्पष्ट छ । अहिले निर्वाचन प्रयोगको मंचलाई टेकेर हामी जनतामा जाँदै रास्ट्रघात र संसदवादको भन्डाफोर गर्नु पर्थ्यो । तर बिडम्बना आ आफ्नो डम्फु बजाउने लम्फु तालले अवश्य पार्टिलाई क्षती गर्यो । तर यो क्षती यसै यतिकै कुनै सिद्धान्त वा कुण्ठको मात्र मामला होईन । केन्द्रिय समितिको बैठकमा भएका हरेक कुरा बाहिर मिडियामा छताछुल्ल हुन थाल्दै गर्दा मलाई पार्टी बाहिरि षड्यन्त्रको घेरामा छ भन्ने लागेको थियो ।

यो देशमा आज रास्ट्रिय स्वाधिनता संघर्षको मोर्चा प्रधान मोर्चा बन्दै गएको छ । दस्ताबेजमा उल्लेख छ- “रुस र युक्रेन बीचको युद्ध रुसी विजयमा सकिन्छ या युरोपव्यापी फैलिन्छ या विश्वस्तरमा पुग्छ क्रमशः खुल्दै जानेछ तर परिणाम जे आए पनि अबको दुनियाँ शान्त र एकपक्षीय नरहने निश्चित छ । पूर्वको ताइवानदेखि मध्यपूर्वको इरान, सिरिया पश्चिमका भेनेजुएलासम्म यसका तरङ्गहरु देखा पर्दै जाने छन् । विश्वले एकपछि अर्को पूँजीवादी विपत्तिहरुको सामना गर्नु पर्नेछ । एमसिसी पास भएसंगै अन्तर्राष्ट्रिय शक्तिसंघर्सको तरलतामा गिजोलिएको नेपालको राजनितीक चलखेल हाम्रो पार्टी भित्रको तरङ्गलाई सुता सुता नाप्दै कुण्ठाग्रस्त छिद्रहरुबाट भित्र छिर्यो र आज यसले बितण्डता शुरु गरेको छ ।

मेरो यो निष्कर्ष होईन तर यो निष्कर्षको नजिक भने अवश्य छ । किनभने हामीले बलिदान गरेर निर्माण गरेको पार्टी, यो पार्टिका नेताहरुमा देखिएको आफै प्रतिको अबिश्वसनियता, चरम कुण्ठा, अराजक मनोरोग, र सिद्धान्तहिन हुत्त्याईले यो त्यतिकै भएको छैन सहजै भन्न सकिन्छ । महासचिब निवाश, कृषि कम्युनको लागि जग्गा, आवश्यक पर्ने सवारी साधन यी निर्णय गरेर योजनाबद्ध ढंगले सोचिएका विषय हुन । आज तिनैलाई उछालिएको छ । हामी पार्टिबाटै निर्णय गराएर- सुदर्शन, कंचन र बिसमलाई गाडि खरिद गरिदिन सक्छौं । एक प्रदेशमा एउटा एउटा दर्बिलो कम्युन निर्माण गरिदिन सक्छौं । आवश्यक छ भने आवास निर्माण गरिदिन सक्छौं । यति कुरा हाम्रो पार्टिको एउटै मुटु एउटै ज्यान भएका कन्चन , सुदर्शन र महासचिबको बिच छलफल नै हुन नसक्ने र गर्नै नसकिने विषय थियो र ? अनि सिंगो पार्टिले मान्दै नमान्ने कुरा थियो र ? यो सकिन्थ्यो तर यहाँ यसलाई यसरी बरालिएको छ त्यो छर्लङ्ग छ ।

यसका पछाडि के छ

पर्दापण हुन अलिकती समय लाग्छ । अर्को कुरा पार्टी चुनाबमा गएपछी संसदबादमा फंस्छ, बिप्लव अब संसदिय बाटो तताउन तिर लागे भन्ने बेतुकका तर्क सुंन्दा हांसो लाग्छ । उंहाहरुलाई के लाग्छ, हामी यो नितिलाई दृढता पुर्वक प्रयोग गरिरहेकाहरु संसदवादी हुन सक्छन वा भए ? यदि यस्तो लाग्छ भने हेक्का रहोस – तपाईंहरुको यात्रा कहाँ सम्मको म भन्न सक्दिन तर हाम्रो यात्रा बलिदानको बाटो भएर हिंड्ने छ । र चुनाब अस्थायी कार्यनिती हो भन्ने पनि बुझौं । उहाँ हरुको यो तर्क आंफै प्रतिको अविश्वास हो । जसमा आत्मबिश्वास छैन उसले जनताको बिश्वास जित्न सक्दैन । र प्रश्न उठ्छ उंहाहरुमा उत्पन्न आत्मअविश्वासको श्रोत के हो ? नेतृत्व , पार्टी पंक्ती, बस्तुगत परिस्थिति ! यो निमित्त कारण हो तर यसको पछाडी एउटा ठूलो षड्यन्त्र छ त्यो उंहाहरुले पनि बुझिरहनु भएको छैन ।

हाम्रो पार्टिले क्रान्ती पूरा गरिछाड्नु छ । सहिद परिवार, घाईते अपाङ्ग, जनता र सिंगो देशको अपेक्षा पूरा गर्नु छ । यसको निम्ति रगतको गोरेटो बाट आएका हामिले रगतकै राजमार्ग निर्माण गर्नु परेपनी हामी तयार हुनु पर्छ । तर, देश जनता, क्रान्तीलाई हाम्रा कार्यनितिक गल्तिहरुले भड्खालोमा जाक्नु हुन्न । संभवानाहरुलाई अधिकतम परिचालन गर्नु पर्छ । हामिले क्रान्तिकारी रोमान्टिसिजममा लहसिएर मात्रै क्रान्ती पूरा गर्ने अभिभारा पूरा गर्न सक्दैनौ । हामी माझ निक्कै ठूलो षड्यन्त्र मडारिएको छ- हामिले यसलाई चिन्न सक्नु र पार्टि र क्रान्ती प्रती जिम्मेवार बन्नु अहिलेको आवश्यकता हो । म यो आवश्यकतालाई बोध गर्न कमरेड सुदर्शन, कंचन लगायत सबैलाई अनुरोध गर्दछु ।

साथै, पार्टिमा देखापरेको यो संकटलाई ‘बिग ब्याङ’ मान्ने हो भने यो उर्जा निर्माण र बिस्तारको श्रोत हो । सबै उर्जा लाभवर्दक मात्र हुंदैनन, बिनासक पनि हुन सक्छन । त्यसैले यो ‘बिग ब्याङ’ ले कस्तो कस्तो उर्जा आफ्नो अगाडि पर्दापण भयो संयम र चनाखो भएर महासचिबले सेकेन्ड सेकेन्डलाई संस्लेसण गर्नु पर्छ । यहाँ एउटा ठूलो गति पैदा भएको छ- यो गतिमा संगै आएका नकारात्मक गतिलाई अबरुद्ध वा निषेध गर्ने सकारात्मक गतिलाई क्रान्तिको हितमा सोझ्याउने दुबै गर्नु पर्छ । अन्यथा यसले अर्को भंयकर दुर्घटना निम्त्याउन सक्छ ।

यतिबेला तिन प्रवृति अगाडि आएका छन

नीति र नेतृत्वको ध्वंस गर्ने , नीति र नेतृत्वको रक्षा गर्ने, र मझधारमा बसेर मिलनको मीठो भाका हाल्ने । बस्तुको बिकासमा यी तिनै तत्व आवश्यक हुन्छन । तर कुन कतिबेला, र कस्तो प्रकारले आ आफ्नो भुमिकामा उभिए त्यो ख्याल गर्नु पर्छ । र तिनले आफ्नो भुमिका अनुसारका परिणाम दिए कि दिएनन यसको पनि उचित शंस्लेसण महासचिबले गर्नु पर्छ । बस्तुमा यसरी पैदा हुने अन्तरसंघर्षले अनिवार्य रुपमा ‘गुण’ लाई थापित गर्नु पर्छ । हाम्रो पार्टिको यो बेलाको गुण के हुनु पर्छ यो पनि महासचिबले शंस्लेसण गर्नु पर्छ । र बस्तुको यो अन्तरसंघर्षको परिणाममा आएका बिकारहरु माथी शंस्लेसित गुणलाई निषेधको निषेधको प्रकृयामा लगेर गुणलाई एकढिक्का र एकरुप गरेर बोल्सेभिक गतिको पार्टी निर्माण गर्ने काम गर्नै पर्छ । यतिबेला संयमित भएर, कुटो कोदालो नै चलाएर सहि विषयलाई यो तहमा बिकास गर्न हाम्रो पार्टी र महासचिब सफल हुनुहुने छ भन्ने मेरो बिश्वास छ ।
हो ,हामी सबै चिन्तित छौं , हाम्रो निन्द्रा बिग्रीएको छ, तन्द्रा खत्तम भएको छ ।

हामी सिद्धान्तहरुलाई जड बनेर हेर्दै छौं, मार्क्सबाद गतिशिल बिज्ञान हो

हामीले बस्तुगत परिवेशमा पैदा भएको गतिलाई सहि तरिकाले बोध गर्नु पर्छ । हामी सबैलाई क्रान्तिको माया छ चिन्ता छ- चाहे आज त्यो सुदर्शन , कंन्चन वा जो कोहि सबैलाई छ । तर, यो बेला षड्यन्त्रको घेरामा पर्दै बिकारको गन्जागोलमा डुब्नु जो कसैले हुंदैन । यसले देश , जनता र क्रान्तिलाई फाइदा गर्दैन । हाम्रो भुमिका के हुने- बिकार, गुण वा समिकरण ? हामिले आंफुलाई क्रान्तिको हितमा उभ्याउनु पर्छ र त्यो भनेको आज पार्टिको नितिमा दर्हो गरि उभिनु हो । र सांगठानिक कामको मामलामा नीति नै हाम्रो गुण हो । हामीले यतिबेला गुण चिन्ने क्षमता राख्नु पर्छ ।
लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमनसिंह पाैडेल हुन्।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal