झापा, ४ जेष्ठ । राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ ।
राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले ४६६६ मत ल्याए ।
त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसीप्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिकादेवी राउतले १४५३ र स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।