News Portal

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

रातोपोस्ट संवाददाता
३७४ पटक

काठमाडौं, १७ जेठ । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् ।युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध जनाएपछि रुसी तेल आयातको दुई तिहाइभन्दा बढी कटौती गर्ने सहमति भएको हो ।हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो । अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ ।

तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको छ ।युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गर्दै तेल कटौतीको सहमतिबारे जानकारी दिएका छन् र उनले रुसको ठूलो वित्तीय स्रोत बन्द गरिदिएको उल्लेख गरेका छन् । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उनको भनाइ छ ।

यो निर्णय ब्रसेल्समा भएको बैठकले अनुमोदन गरेको प्रतिबन्धको छैटौं प्याकेज अन्तर्गतको रहेको बीबीसीले जनाएको छ । यो निर्णयमा सबै २७ सदस्य देशहरुले सहमति जनाएका थिए ।प्रतिबन्धको यही छैटौं प्याकेज अन्तर्गत रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकको स्विफ्ट सिस्टमबाट पनि हटाइने छ । साथै सरकारी स्वामित्वका तीन वटा प्रसारकलाई पनि प्रतिबन्ध लगाइने छ ।

प्रतिकृया दिनुहोस्