News Portal

मेचीनगरमा कार्यपालिकाका ८ जनाले लिए सपथ

रातोपोस्ट संवाददाता
३२१ पटक

मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका ८ जना सदस्यले विहीबार सपथ लिएका छन् । नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिकाका ५ महिला र ३ जना पुरुष सदस्यले सपथ लिएका हुन् ।

उनीहरुलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा ५ जना महिला कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका वडा नम्बर १ बाट तीलजा देवान, वडा नम्बर ५ बाट माया प्याकुरेल, वडा नम्बर ६ बाट अञ्जु थापा, वडा नम्बर १३ बाट रिता परियार र वडा नम्बर ८ बाट कविता खनाल सार्की छन् ।

त्यस्तै, ३ जना पुरुषमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित वडा नम्बर १० बाट हृदय राजबंशी, वडा नम्बर ८ बाट चित्र धिमाल र वडा नम्बर १२ बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अमित राई छन् ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकीले सपथ खुवाएसँगै इमानदार भएर जनताको काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल, निर्वाचन अधिकृत वेदराज फुयल, सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराई, डिएसपी ज्ञानकुमार महतो लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले गरेका थिए । गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट मेचीनगरमा ७७ पदमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ६८ स्थानमा एमालेले विजय हासिल गरेको थियो ।

त्यस्तै, कार्यपालिकाको ८ जना सदस्यमा भएको निर्वाचनबाट एमालेबाट ५ महिला र ३ जना पुरुष निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित कार्यपालिका सदस्यमध्ये ७ जना एमाले र १ जना मञ्चका हुन् । मेचीनगर नगरपालिकामा ८० सिटमा ७१ स्थान एमालेले हात पारेको छ भने अन्य ९ सिटमा नेपाली काँग्रेस र माओवादी केन्द्रले जित हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्