News Portal

तलब वृद्धिको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
२६१ पटक

भद्रपुर, १ असार । तलब वृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले भद्रपुर नगर समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरी, परिषद्का नगर अध्यक्ष करकचन्द्र राजवंशी लगायतको टोलीले नगरपालिकाका मेयर गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले कर्मचारीहरूले आफूहरूलाई प्राप्त हुने मासिक १५ हजार तलब अत्यन्त कम भएको भन्दै प्रावि तह वा खरिदार सरहको तलब वृद्धि गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मेयर पोखरेलले कर्मचारीको मागप्रति स्थानीय सरकार संवेदनशील छ । नगरपालिकालाई प्राप्त बजेटले तलब वृद्धिमा गर्न समस्या हुने भएकोले सङ्घीय सरकार र प्रादेशिक सरकारसँग थप बजेटका लागि पहल गर्ने उनले बताए ।पहिलो चरणमा १० प्रतिशतसम्म र बाँकी क्रमशः बढाउँदै मागलाई पूर्ण रुपमा सम्बोधन गरिने बताउँदै उनले भने, ‘विद्यालय कर्मचारीको माग सम्बोधन गर्नलाई सरोकारवाला निकायसँग बारम्बार छलफल गरिरहेको छु ।’

यता शिक्षक महासंंघ नगर अध्यक्ष गिरीले आफूहरूले कर्मचारीहरूको तलब वृद्धिको पटक पटक माग सम्बोधनका लागि पहल गरे पनि नगरपालिकाले खासै चासो नदेखाएको बताए । बाल विकास शिक्षक भद्रपुर नगर सङ्घर्ष समितिकी अध्यक्ष तारा मैनालीले बाल शिक्षकहरूको मासिक तलब न्युनतम २२ हजार पुर्याउनु पर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएकी छिन् । भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, बाल शिक्षक र सहायक कर्मचारी रहेका छन् ।

प्रतिकृया दिनुहोस्