News Portal

हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

रातोपोस्ट संवाददाता
२८७ पटक

मेचीनगर, ५ श्रावण । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा मेचीनगर–१, २, ३, ४, ५, ९, ११ र १२ लगायतका वडाहरुमा जंगली हात्तीहरु प्रवेश गरी बालीनाली र घर टहराहरुको क्षति गर्न थालेको अवस्थाले हामीलाई चिन्तित बनाएको उल्लेख छ ।
मेचीनगर–१ को पाटापुरदेखि वडा नम्बर ६ सम्मको १८ किलोमिटरसम्मको लम्बाई रहेको विद्युतिय तारबारलाई हात्तीले भत्काइदिएर गाउँ पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

चारआलीदेखि मेची किनारसम्म हात्ती कोरिडोर निर्माण गर्ने नीति तथा कार्यक्रमले विद्युतिय तारबारको औचित्य समाप्त पारिदिएको छ ।हात्ती कोरिडोरको निर्माणको कुरालाई हटाइ विद्युतिय तारबारको मर्मत सम्भार, दिगो संरक्षण र स्थायी तट बन्धनको उपायहरुको अवलम्बन गर्न पाँच दलले जोडदार माग गरेको छ ।

नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको अनुचित दोहनले किसानहरुको कुलो पैनीमा पानी सञ्चालन गर्न नसकिने, नदी कटानको समस्या बढेर जाने र पानीको स्रोत गहिरिने वा सुक्ने समस्या स्थानीयले भोगिरहेका छन् ।मेची खोलाको नदीजन्य पदार्थलाई यान्त्रिक उपकरण प्रयोग गर्ने गरी ठेक्का लगाउने भन्ने नगर सभाको कार्यक्रमलाई पुनर्विचार गरी निन्दा, टिमाइ र हडिया खोलामा पनि सोही अनुसार गर्न ज्ञापन पत्रमा उल्लेख छ ।

सो विषयमा ध्यानाकर्षण गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विगतमा नदीजन्य पदार्थ उत्खनन्मा लगाइएको ठेक्काको आम्दानी घटाइएको बताए ।आवश्यक खोलाहरुमा मात्र नदीजन्य पदार्थ उत्खनन् गरिने उनले बताए । यसपटकको बजेटमा पनि अढाई करोडभन्दा बढी ठेक्कामा नदीजन्य पदार्थ उत्खनन् गर्न नदिने नगरपालिकाको योजना छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा नेपाली कांग्रेसका नगर सभापति सुवेशकुमार पनेरु, माओवादी केन्द्रका नगर सहइन्चार्ज प्रकाश खड्का, जसपाका क्षेत्रीय सचिव विमलदेव काफ्ले, राप्रपा प्रदेश १ का सदस्य रमेश दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका नगर सचिव हरिप्रसाद तिम्सिना लगायतको सहभागिता रहेको थियो

प्रतिकृया दिनुहोस्