News Portal

मलको समस्या समाधान हुँदै छ : मन्त्री यादव

रातोपोस्ट संवाददाता
३०६ पटक

काठमाडौँ, ७ श्रावण । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मलको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । अहिले ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र अझै ५० हजार मेट्रिक टन मल आउने क्रममा रहेको उहाँले बताउनुभएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) आबद्ध पत्रकारसँग शुक्रबार भएको भेटघाटमा उहाँले भन्नुभयो, “अहिले मलको समस्या समाधान हुँदै छ, २० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल आउने क्रममा छ । भारत सरकारसँग भएको जीटुजी सम्झौताको मल पनि आएपछि यो आर्थिक वर्षका लागि मलको समस्या समाधान हुँदैन ।”

मन्त्री यादवले बिहीबार नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्नुभएको थियो । उक्त भेटमा भारतीय राजदूतले भारतबाट मल ल्याउन तत्कालै पहल गर्ने बताउनुभएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “हामीलाई विश्वास छ, यो महिनाभित्र जीटुजीको मल आइपुग्छ ।” नेपालबाट सबै प्रक्रिया पूरा भइसकेको र भारतबाट मल आउन मात्र बाँकी रहेको चर्चा गर्दै उहाँले साउन महिनाभित्रै मल आइपुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौताअनुसार यो आर्थिक वर्षमा भारतले एक लाख ७० हजार मेट्रिक टन मल दिनेछ । नेपालले एकै पटक सबै मल दिन आग्रह गरेको छ तर भारतले यसबारे कुनै जवाफ दिएको छैन ।

कृषिमन्त्री यादवले कृषि विकासका लागि कृषि सञ्चारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । आर्थिक विकासका लागि कृषिजति महत्त्वपूर्ण छ, कृषिका लागि सञ्चार पनि त्यति नै महत्त्वपूर्ण रहेको बताउनुभयो ।किसानलाई कृषिका नयाँ अनुसन्धानका कुरादेखि अन्य सूचना पु-याउने काम सञ्चार जगत्ले नै गरेको बताउँदै उहाँले किसानले समयमा सूचना पाएन भने कृषि कर्म सम्भव नरहेको बताउनुभयो । मौसमको कुरादेखि कृषिमा भएको नयाँनयाँ आविष्कार तथा विकासको कुरा पनि किसानले सञ्चारबाट थाहा पाउँछन् र सोहीअनुसार खेती किसानी गरेका हुन्छन्, त्यसैले कृषिका लागि सञ्चार महत्त्वपूर्ण कुरा रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्