News Portal

सत्ता गठबन्धनको काम लुट मात्रै देखियो, चुनावबाट परास्त गरिने छ : अध्यक्ष ओली

रातोपोस्ट संवाददाता
३२४ पटक

झापा, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताएका छन् ।

नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षणमा कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धनले देशमा मच्चाइरहेको लुट अन्त्य गर्न एमालेका सचेत कार्यकर्ताहरु तल्लो तहसम्म तयारी रहनुपर्ने बताए । उनले गठबन्धनलाई परास्त गर्ने मौका भने कै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भएको प्रतिक्रिया दिए ।
अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् । सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको आरोप लगाउँदै सत्ता गठबन्धनका पार्टीलाई जनता सजग भएर एकमुष्ठ पराजित गर्नुपर्ने ओलीको भनाई थियो ।

सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य-मान्यताविपरितका काम गरिरहेको ओलीले आरोप लगाए । देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उनको भनाइ थियो । सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको उनको दाबी थियो ।

आज झापा ओर्लिएका ओलीले चार दिन गृहजिल्ला झापामा बिताउने छन् । मुक्ति समाजको कार्यक्रममा शुरुमा सहभागी जनाएको ओलीले दिनभर नेता कार्यकर्तासँग भेट गरिरहेका छन् । बिर्तामोडको किङ्सबेरीमा प्रेस चौतारीका सदस्यहरु र जनसंगठनका नेताहरुसँग भेटघाट गरेको एमाले झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्