News Portal

धुलाबारी क्याम्पसमा इन्जिनियरिङ पढाइ हुने

रातोपोस्ट संवाददाता
१९४ पटक

झापा, ६ असाेज । झापाको धुलाबारी क्याम्पसमा अब इन्जिनियरिङ विषय अध्ययन हुने भएको छ । क्याम्पसले यसै बर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन सञ्चालन गर्ने भएको हो । योसँगै सिभिल इन्जिनियरिङको स्नातक तह (बीई) पढाई हुने धुलाबारी क्याम्पस झापाकै पहिलो सामुदायिक क्याम्पस भएको छ ।

क्याम्पस प्रशासनले आज पत्रकार सम्मेलन आयोजना गरी बीई कक्षाको पठनपाठन हुने विषयमा जानकारी दिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट बीई कक्षा सञ्चालनको अनुमति प्राप्त भएको र यही वर्षदेखि कक्षाहरु सुरु हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले बताए ।

क्याम्पसमा मानविकी र शिक्षा संकायका बिषय अध्ययन गराउँदा विद्यार्थीको संख्या अत्यन्त न्यून भएको र नयाँ पुस्ताको ध्यान प्राविधिक बिषयमा केन्द्रित भएकाले इन्जिनियरिङ बिषयको अध्ययन गराउन लागेको क्याम्पस प्रमुख पौडेलले बताए । उनका अनुसार विद्यार्थीले आफ्नै ठाँउमा सामुदायिक क्याम्पस भएकाले कम खर्चमा नै ४ बर्षे ब्याचलर अफ इन्जिनियरिङको अध्ययन गर्न पाइने छन् ।

क्याम्पसका कोर्डिनेटर इन्जीनियर रुद्र मैनालीले भौतिक संरचना र शैक्षिक सामग्रीका हिसाबले पनि धुलाबारी क्याम्पस प्राविधिक क्याम्पसको रुपमा विकास भइसकेकाले पनि इन्जिनियरिङ अध्ययन गराउन सजिलो हुने बताउँछन् । प्राविधिक जनशक्ति पनि स्थानीयहरु नै पर्याप्त रहेकाले विद्यार्थीको तुलनामा शिक्षक प्राध्यापकहरुको कमी नहुने उनी बताउँछन् ।

बीई सिभिल इन्जिनियरिङ अध्यायन गर्न विद्यार्थीहरुले प्रती विद्यार्थी ७ लाख रुपैया शुल्क बुझाउनु पर्नेछ । क्याम्पसमा पहिलो पटक ४८ जनाले अध्ययन गर्न पाइने छन् । जसमा ४ जनाले छात्रबृत्ति पाउने छन् । तर, छात्रबृत्तिका लागि युनिभर्सिटीले नै परीक्षा लिने क्याम्पस प्रशासनले समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

इतिहास बोकेको धुलाबारी क्याम्पसको पहिचानलाई जिवित राख्न यसलाई प्राविधिक बिषय अध्ययनको थलो बनाउने प्रयास सफल हुँदै गएको क्याम्पसका अध्यक्ष भीम खवासले बताए ।

प्रतिकृया दिनुहोस्