News Portal

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

रातोपोस्ट संवाददाता
२६५ पटक

महोत्तरी, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।

अध्यक्ष पुष्पकमल दाहालले बैठकको पहिलो दिन साउन १७ गते प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय तोकिएको छ। बैठक साउन २१ गतेसम्म चल्नेछ।

केन्द्रीय समिति बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बैठकमा धारणा राख्नेक्रममा नेताहरुले पार्टीको विचार र व्यवहार लथालिंग अवस्थामा पुगेकाले जनता माँझ कमजोर बन्दै गएको बताए । उनीहरुले नेतृत्वलाई गल्ती स्वीकार गरेर अघि बढ्न समेत सुझाव दिएका छन् । नेताहरुले अहिलेकै अवस्थामा नेतृत्व अघि बढ्ने हो भने माओवादी नै सकिने चेतावनीसमेत दिएका छन्।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको फाइल एकपछि अर्को निरन्तर खुल्दै जाने र त्यसमा आफ्नै पार्टीका नेताहरुको संलग्नता भए पनि नछाड्ने धारणा राखेका थिए। उनले सरकारको कामलाई प्रभावकारी र पारदर्शी बनाएर नै एकपटक पुन: पार्टीमा जनताको भरोसा पुनर्जागृत गर्ने दाबी गरेका थिए । उपाध्यक्ष कृष्णबहादुर महराले विघटन वा पुनर्निर्माण एकमात्र विकल्पमा माओवादी पार्टी उभिएको धारणा राखेका थिए।

अध्यक्ष दाहालको मौखिक प्रतिवेदनमा रहेर सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् भने नेताहरुले बोलेका विषयलाई समेटेर अध्यक्ष दाहालले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। अध्यक्षको प्रतिवेदनमा मूलत: मंसिरमा विधान अधिवेशन, त्यसअघि तीनमहिने संगठन सुदृढीकरण र चैत महिनासम्म विशेष महाधिवेशन गर्ने उल्लेख छ। दाहालको राजनीतिक प्रतिवेदनमा एक सय क्विन्टल सुन काण्डको विषयलाई समावेश गरिएको छैन भने बुधबार १८ र बिहीबार ५७ गरि ७५ जनाले आफ्ना धारणा राखेका छन्।

प्रतिकृया दिनुहोस्