News Portal

रोकिएन ढुंगा-गिटी तस्करी

नवराज सुवेदी
१६५ पटक

मेचीनगर, १३ माघ । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउन सकेको छैन । अर्थात अहिले नगर क्षेत्रका नदिबाट ढुंगा गिटी निकाल्न मिल्दैन । ठेक्का लगाउने प्रक्रिया जारी रहेपनि ठेक्का भने लागिसकेको छैन ।

तर, अचम्मको कुरा के भने नदिजन्य पदार्थको उत्खनन् बन्द रहेपनि खोलाबाट भने अवैद्य रुपमा ढुंगा गिटीको तस्करी भइरहेको छ । कहिले रातारात त कहिले दिउँसै खोलामा ट्याक्टर लगेर नदिजन्य पदार्थको तस्करी भइरहेको छ । जुन विषयमा नियमनकारी निकाय मौन जस्तै छन् ।

मेचीनगरको उत्तरी क्षेत्र बौद्धमोड, भृकुटी, दोकानडाँडा लगायतका क्षेत्रबाट अवैद्य उत्खनन् हुने गरेको जानकारहरु बताउँछन् । तर, यसको नियन्त्रण भने हुन सकेको छैन । ‘नियन्त्रणका लागि प्रहरी त खटिएको छ, तरपनि नियन्त्रण हुन सकेको छैन,’ उत्तरी मेचीनगरका एक स्थानीय भन्छन् ।

ढुंगा गिटीको तस्करी नियन्त्रणका लागि नगर प्रहरीसँगै नेपाल प्रहरी पनि सक्रिय छन् । तरपनि उनीहरुको आँखा छलेर तस्करी भइरहेको छ । ‘खोलामा ट्याक्टर भेटिए ५० हजार तिर्नुपर्ने नियम छ तरपनि तस्करी हुने क्रम भने रोकिएको छैन,’ अर्का स्थानीयको भनाई छ ।

खोला बन्द हुनु तरपनि गाउँघरमा भने ढुंगा गिटीको अभाव नहुनुले पनि तस्करी रोकिएको छैन भन्ने पुष्टि हुन्छ । रातोपोष्ट पत्रीकाले यस विषयमा केही व्यवसायीहरुसँग पनि बुझेको छ । उक्त क्रममा ढुंगा जतिपनि ल्याइदिन सक्ने तर ट्याक्टरकै ४ देखि ५ हजारसम्म रकम लाग्ने व्यवसायीहरुले बताए ।

यता यस विषयमा नगरपालिकासँग बुझ्दा खोला ठेक्का लाग्ने क्रममा रहेको जानकारी पाइयो । केही स्थानमा ठेक्का लागेपनि सम्झौता भने नभएको नगरपालिका स्रोत बताउँछ । अर्थात नगरपालिकाले पनि अहिले भइरहेको ढुंगा गिटीको उत्खनन् तस्करीको माध्यमबाट भएको बताउँछ ।

आधिकारीक तवरबाट नभइ तस्करीको माध्यमबाट ढुंगा गिटी उत्खनन् हुँदा एकातर्फ तस्करी फस्टाइरहेको छ भने अर्कोतर्फ नगरपालिकाले लिने राजश्व रकम गुमिरहेको छ । जसतर्फ सम्पुणर् नियमनकारी निकाय सक्रिय भएर तस्करी नियन्त्रण गर्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस्