News Portal

‘सांसद हराएको सूचना’

रातोपोस्ट संवाददाता
५३२ पटक

झापा, १३ माघ । ‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाँईलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा कसलाई आश्चर्य नलाग्ला र ?

यस्तै घट्ना झापा मेचीनगरमा भएको छ । मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरुले सार्वजनिक रुपमै सांसदलाई खोजेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरुले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका हुन् ।

शनिवार बिहान स्थानीय यूवाहरुले निर्माणाधिन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाएका छन् । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेट अभावका कारण निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरु समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले स्थानीय युवाहरुले दबाब मूलक कार्यक्रम गरेका हुन् ।

झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्माले उक्त पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उनी बेखबर जस्तो भए पछि सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीको भनाई छ । ज्यामिरगढीका युवाहरुको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा ‘संसाद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखेर प्रर्दशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्