News Portal

जेसीस सदस्यको निःशुल्क उपचार हुने

रातोपोस्ट संवाददाता
९९ पटक

झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो ।

सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको छ । सम्झौता अनुसार जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुनेछ । जसअन्तर्गत कार्य समिति सदस्य तथा पूर्व अध्यक्षका लागि निःशुल्क ओपीडी, शल्यक्रियामा ५० प्रतिशत र चश्मामा १० प्रतिशत छुट हुने छ ।

सम्झौतामा क्लबको तर्फबाट न्युनतम १० वटा सामुदायिक विद्यालयमा निःशुल्क आँखा जाँच तथा ५ वटा विद्यालयमा अभिमुखीकरण कार्यक्रमका लागि सहजीकरण गर्नुपर्ने उल्लेख छ । सम्झौतामा बाहुण्डाँगी जेसीजको तर्फबाट अध्यक्ष देबु बानियाँ र अस्पतालको तर्फबाट संचालक मोहन निरौलाले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बोल्दै अस्पताल संचालक निरौलाले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत जेसीजसँग सम्झौता गरिएको बताए । उनले आर्थिक अभावकै कारण जोकोहीले आँखा उपचारबाट बन्चित हुने अवस्था आए सिफारिस गर्न र त्यस्ता व्यक्तिको आफुहरुले निःशुल्क उपचार गरिदिने प्रतिवद्धता जनाए ।

अध्यक्ष बानियाँले आफ्ना सदस्य तथा जेसीजकर्मीका लागि अस्पतालले गरेको सहयोगप्रति आभार प्रकट गरे । सो अवसरमा अस्पतालका मेडिकल डाईरेक्टर अमनकुमार गुप्ता, प्रवन्ध निर्देशक योगेन्द्रजीत शाही, बाहुण्डाँगी जेसेजका पूर्व अध्यक्ष सागर कार्की, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, बाहुण्डाँगी जेसीजका बोर्डका पदाधिकारीलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस्