News Portal

मेची-महाकालीबाट एकसाथ शुरु हुँदै मिटरब्याज विरुद्धको सडक आन्दोलन

नवराज सुवेदी
१५९ पटक

झापा, १५ माघ । मिटरब्याज सम्बन्धी कानून संसोधनको माग गर्दै माघ १६ गते (मंगलबार) बाट वृहत सडक आन्दोलन शुरु हुने भएको छ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको अगुवाईमा पूर्व र पश्चिमबाट एकैसाथ सडक आन्दोलन ‘मिटरब्याज विरुद्धको न्याय मार्च’ शुरु हुने भएको हो ।

मिटरब्याज सम्बन्धि कानून संसोधन र आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटरब्याज छानविनका लागि शक्तिशाली उच्च आयोग गठनको प्रमुख माग राख्दै संघर्ष समितिले पूर्व मेची र पश्चिम महाकालीबाट एकसाथ न्याय मार्च गर्न लागेको आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले जनाएको हो ।

‘सरकारले मिटरब्याज सम्बन्धि कानून त बनायो तर, उक्त कानून पिडित पक्षको नभएर शाहुमहाजनको पक्षमा बनेको छ’, पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका केन्द्रिय अध्यक्ष अवधेश कुश्वाहले भने ‘यस्तो प्रकारको कानून बनाउने राज्य सत्ता र शाहुमहाजन विरुद्धको आन्दोलन हो यो, विशुद्ध मजदुर तथा किसानहरुको एकताको आन्दोलन हो ।’

अध्यक्ष कुश्वाहका अनुसार मंगलबार विहान ७ बजे पूर्वमा मेचीको तिर र पश्चिममा महाकालीको तिरबाट शुरु हुने यस वृहत न्याय मार्च चितवनको नारायणघाटमा पुगेर एक हुनेछ र काठमाण्डौँ तर्फ प्रवेश गर्नेछ । काठमाण्डौँका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सरकारलाई मिटरब्याज पिडितको पक्षमा कानून निर्माण गर्न तथा शक्तिशाली उच्च आयोग बनाउन दबाब दिने यस आन्दोलनको उद्देश्य रहेको अध्यक्ष कुश्वाहले बताए ।

यसैगरी पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिकी केन्द्रिय सदस्य लक्ष्मी घिमिरेले मिटरब्याज पिडितहरुलाई राज्यले पटकपटक दमन गरेको र अन्य कुनै विकल्प नभएपछि सडकमा आन्दोलन गर्न बाध्य हुनुपरेको बताइन् । ‘यो आन्दोलन वित्तिय शोषण विरुद्धको पनि आन्दोलन हो, यसकारण यस आन्दोलनमा शाहुमहाजनबाट शोषित हरेक नागरिकको सहभागिता रहने अपेक्षा लिएका छौँ’, उनले भनिन् ‘विगत ३ बर्षदेखि लगातार जारी रहेको यस आन्दोलन जबसम्म पिडितले न्याय पाउँदैनन् तबसम्म जारी रहन्छ ।’

यस्ता पटकपटकको आन्दोलनले पनि राज्य मिटरब्याज पिडितका मुद्दामा गम्भिर बनेन भने आफुहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने संघर्ष समितिका झापा जिल्ला सचिव नारद प्रसाद दवाडीले चेतावनी दिए । ‘नागरिकलाई न्याय दिन नसक्ने न्यायालय हामीलाई चाहिएन, हामी मुद्दा लड्दा लड्दै थाकिसकेका छौँ’, उनले भने ‘हतियार नै बोकेर आन्दोलनमा उत्रन हामीलाई बाध्य नपारियोस ।’

देशभर ५ लाखको हाराहारीमा मिटरब्याज पिडितको संख्या रहेको जनाउँदै संघर्ष समितिले आन्दोलनमा ति सबैको साथ सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्