News Portal

पूर्वबाट एकताको सन्देश : चार जातीले एकैसाथ मनाउँदै ल्होछार पर्व

नवराज सुवेदी
१४५ पटक

झापा, १६ माघ । पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातीले एक साथ ल्होछार पर्व मनाउने भएका छन् । संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर १३ मा बसोबास गर्ने चार जाती (शेर्पा, मगर, तामाङ र गुरुङ)ले एकैसाथ माघ २० गते ल्होछार मनाउने भएका हुन् ।

माघ २० गते चारआली उत्तर पुरानो गुम्बा भएको स्थलमा आयोजना गरिने यस ल्होछार विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातीको ऐक्यवद्धता रहेको आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

फरक फरक समयमा नभई एकै मितिमा सबै जातीले पर्व मनाउँदा भव्य पनि हुने र सबै जातीको ऐक्यवद्धता रहने भएकाले नौलो अभ्यासको शुरुवात गर्न लागिएको आयोजक समितिका अध्यक्ष फूर्वा लामाले बताए ।

‘पटकपटक छुट्टी दिँदा राज्यलाई पनि धेरै भार पर्छ, त्यसैले सबै जाती मिलेर एउटै मितिमा किन पर्व मनाउन सकिँदैन ? भनेर पनि हामीले यसरी ल्होछार पर्व मनाउँन लागेका हौँ’, पत्रकार सम्मेलनममा बोल्दै उनले भने ।

भिन्न भिन्न तवरबाट पर्व मनाउँदा जाती जातीबिच भिन्नता पनि महसुस हुने गरेको र एकैसाथ मनाउँदा एकताको सन्देश पर्वाह हुने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य मान बहादुर तामाङको भनाई छ ।

कार्यक्रममा प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता तथा प्रदेश १ ‘क’ र ‘ख’ बाट निर्वाचित सांसद, नगरपालिकाका प्रमुख उपप्रमुख, वडासदस्यहरुको आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने जातजातीको झाँकी प्रस्तुत गरिने आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा ल्होछार पर्व मनाउने चारवटै जातीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्