News Portal

किन रोकियो मेचीनगर १५ मा झोलुङ्गे पुल निर्माण ? यस्तो छ वडाको जवाफ

नवराज सुवेदी
४६३ पटक

झापा, १७ माघ । केहीदिन अघि संचारमाध्यमहरुमा एउटा समाचार निक्कै प्राथमिकताका साथ प्रकाशन भयो । उक्त समाचार थियो मेचीनगर १५ मा निर्माणाधिन झोलुङ्गे पुल लामोसमयसम्म रोकिएको र पुनःनिर्माण शुरु नहुँदा स्थानीय युवाहरुले सांसद, मेयर तथा अन्य नेतृत्व खोजेको सम्बन्धमा ।

युवाहरुले त्यसबेला ‘सांसद हराएको सूचना’ नै लेखेर विरोध जनाएकाले उक्त समाचारले राम्रै प्राथमिकता पाएको थियो । त्यसपश्चात मेचीनगर नगरपालिका वडा नं १५ ले आज पत्रकार सम्मेलन गर्दै उक्त समाचारप्रति ध्यानाकर्षण भएको र पुल पुनःनिर्माण शुरु नहुनुको कारण स्पस्ट पारेको छ ।

उक्त क्रममा वडाले झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद बिश्वप्रकाश शर्मा कतै नहराएको भन्दै यहि क्षेत्रमा क्रियाशिल रहेको दाबी पनि गरेको छ । ‘यहाँबाट निर्वाचित सांसद यहिँ सक्रिय हुनुहुन्छ, यहिँका जनताका साथमा हुनुहुन्छ र पुल पुनःनिर्माण नभएको सन्दर्भमा उहाँ जानकार नै हुनुहुन्छ’, वडा नं १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) भन्छन् ‘पुल निर्माण अबिलम्ब शुरु गर्नका लागि उहाँ लागिरहनुभएको छ ।’

राज्यबाट बजेट छुट्टीएर निर्माण शुरु भएको पुल एकाएक कसरी रोकियो ? भन्ने प्रश्नमा भने उनले झोलुङ्गे पुल निर्माण योजना क्रमागत योजना भएकाले समयमा बजेट नछुट्टीँदा निर्माण रोकिएको दाबी गरे । ‘यो केन्द्रिय सरकारको क्रमागत योजना हो, यसमा क्रमिक रुपमा बजेट छुट्टीन्छ’, उनी भन्छन् ‘पहिलो किस्ता ७४ लाख छुट्टीएपछि अन्य बजेट निकासा भएन जसका कारण पुल निर्माण रोकियो ।’

पुल निर्माणको काम ६० प्रतिशत सकिएको जनाउँदै उनले ७४ लाख रकम ठेकेदारले प्राप्त गरिसकेको जानकारी दिए । अब बाँकी काम पनि छिट्टै शुरु हुनेमा बिश्वस्त रहेको उनको भनाई छ । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल यस क्षेत्रकै महत्वपुणर् आयोजना हो । झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्मा र क्षेत्र १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद गोपाल तामाङले उक्त पुलको शिलान्यास गरेका थिए ।

तर, उक्त पुल निर्माण कै चरणमा एकाएक रोकिएपछि युवाहरुले ‘सांसद हराएको सूचना’ ‘कहिले बन्छ पुल’ लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

प्रतिकृया दिनुहोस्