News Portal

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

रातोपोस्ट संवाददाता
१७५ पटक

झापा, २३ माघ । कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए । उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरपीडित उनको विराट नर्सिंङ होम विराटनगरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुढाथोकी चार दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए । पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा उदाएका थिए । पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो । त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन् ।

उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए । कुनै समयका पञ्चायत विरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती बन्दै पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्, राष्ट्रिय पञ्चायत सदस्यको रुपमा समेत विजयी भए ।

तर त्यही समय पुनः उनले ‘बहुदलको वकालत’ गरेको आरोप खेपेपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेको बताइन्छ ।

२०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट उनी पहिलो पटक निर्वाचित भएका थिए । भारत, दार्जीलिङबाट अंग्रेजीमा स्नातक केशवकुमार बुढाथोकीका दुई छोरा र दुई छोरी छन् । राजनीति बाहेक उनको अध्ययन र समाजसेवामा विशेष रुचि थियो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढाथोकीको निधनले पूर्वी नेपालको राजनीतिमा ठूलो रिक्तता महसुस भएको जनाएका छन् । ‘उहाँ हक्की स्वाभावका राजनीतिज्ञ हुनुहुन्थ्यो,’ महामन्त्री शर्माले भने,‘उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’उहाँको मंगलबार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्