News Portal

श्रीमान् सम्पर्कविहीन भएका चुनादेवीले गरिन जीवन बचाइदिन अपिल

रातोपोस्ट संवाददाता
५७ पटक

झापा, ७ फागुन । आर्थिक अभावले पूर्ण उपचार नपाएर हस्पिटलको (बेड) बाट बाहिरिन बाध्य भएकी चुनादेवी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छन् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाख बढी खर्च भए पनि थप औषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेकी हुन् ।

उपचारका क्रमशः चल्दै थियो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न चिकित्सकले पनि नजान भनेको थियो, के गर्नु आफूलाई चिनेजानेकाहरुले गरेको सहयोगले नपुगेर १८ लाख जति ऋण नै गरिसकेँ त्यो रकमले नपुग्ने भएपछि ६ पटकसम्म अप्रेसन गरेको शिथिल शरीर लिएर हस्पिटल कक्षबाट आइतबारदेखि कोठामा छु भावुक हुँदै चुनादेवीले भनिन् ।

इलामको देउमाई-२ स्थितमा कोठामा बस्दै आएकी सुवेदी २०८० साउन २६ गते शुक्रबार अपराह्नमा ढोकामा लगाएको पर्दा निकाल्न मुढामा चढेकी थिइन् । मुडामा खुट्टा चिप्लिएर लडेपछि उनी अचेत भइन् । रक्तपात अवस्थामा भुईँमा लडेको देखेर छिमेकीले फिक्कलस्थित स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए । त्यहाँ सामान्य उपचारपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पुग्दा उनको होस आएको उनको भनाई छ । भाँचिएको हात र आर्थिक अवस्था बुझेर ब्याण्डेज गरेपछि बिर्ता सिटीले विराटनगरस्थित नोबेल हस्पिटलमा रेफर गरिदियो ।

नोबेल हस्पिटलले भाँचिएको हातमा अप्रेसनपछि स्टिल राखेर उपचार गरेको थियो । ‘उपचारपछि घर फर्के,’ चुनादेवीले भनिन्, ‘७ वर्षको छोरालाई पालनपोषण रेखदेख गर्नै परो ।’ पहाडको ठाउँमा जोगिएरै सकेको सामान्य काम गर्दै थिएँ । हस्पिटलले ३ महिनामा स्टिल खोल्न भनेको थियो । आर्थिक अभावले समयमै स्टिल खोल्न सकिनँ । हातमा सिलाई गरेको ठाउँमा फोका हुँदै घाउ निस्किन थाल्यो । स्थानीयले गरेको आर्थिक सहयोगको भरमा नोबेल हस्पिटल पुगेर स्टिल निकाले पनि हातमा इन्फेक्सन बढेको उपचारमा संलग्न चिकित्सकले बताए ।

स्टिल निकालेपछि घाउ दुख्न थाल्यो भनेपछि बिर्तामोडस्थित मानव सेवा केन्द्रका प्रोपाइटरको दाजुभाइले झापाको बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिदिएका थिए । हस्पिटलमा एमआरआई गर्दा हातबाट इन्फेक्सन फैलिँदै शरीरमा पुगेको उपचारमा संलग्न डाक्टरको भनाई छ ।

उपचारका क्रममा माइती पक्ष, घर छिमेकी, नातागोता, विद्यालय, वडा कार्यालय वा चिनजानेका सबैको सहयोग र ऋण गरेको २० लाख बढी रकम पटक पटक गरी हस्पिटल र मेडिकललाई बुझाएको छु । तर, स्वास्थ्योपचार पूर्ण पनि भएको छैन, उनले भनिन्, मेरो उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध हुँ । ‘४ पटक अप्रेसन त भयो, हातको हड्डीमा धेरै संक्रमण फैलिएकाले हड्डी खिइएर सानो भएकाले कम्मरको हड्डी निकालेर नहाली नहुने चिकित्सकले सल्लाह दिएको छ ,’ उनले भनिन्, ‘बाँचेर केही गर्ने योजना बुन्दाबुन्दै यो अवस्थामा पुगेँ ।’

केही वर्षअघि भारतमा पलायन भएका चुनादेवीका श्रीमान् चन्द्रप्रसाद ढुङ्गेल हालसम्म सम्पर्कविहीन छन् । ७ वर्षको छोरासँग भाडाको कोठामा गुजारा चलाउँदै आएकी चुनादेवीको माइतीतर्फ आर्थिक अवस्था कमजोर भएकै कारण सहयोगको याचना गरेको उनको भनाई छ । दुई वर्षअघि करार दरबन्दीमा स्थानीय श्री कृष्ण शर्मा सेकेण्डरी स्कुलमा शिक्षण पेसा आबद्ध चुनादेवीलाई विद्यालयले २५ हजार र वडा कार्यालयले १० हजार आर्थिक सहयोग गरेको छ ।

दैनिक १ हजार पर्ने एउटा ट्याब्लेट र भारु ७२ सय पर्ने एउटा इन्जेक्सन निरन्तर ३ महिनासम्म खानु र लगाउनु पर्ने औषधी लेखिदिएको छ । औषधि किन्ने सामर्थ्य छैन । अब मैले कसरी जुटाउनु रु प्रश्न गर्दै सबैले आर्थिक सहयोग गरी मलाई बचाइदिन अपिल गरेको छु । उनले एक्सेल बिकास बैकको शाखा इलामको खाताको नाम चुनादेवी सुवेदीको एकाउन्ट नम्बर ००२०१२०००१५०७५०००००१ र फोन पे ९८६९८५५१५० मा आर्थिक सहयोग गरिदिन आग्रह गरिन् ।

प्रतिकृया दिनुहोस्