News Portal

कसले चलाइरहेछ मेचीको पुलमाथि ‘शासन’ ?

नवराज सुवेदी
३१४ पटक

झापा, ९ फागुन । भिडले अस्तव्यस्त सडक, सिटी रिक्साको जथाभावी पार्किङ, अव्यवस्थित जामका कारण यात्रुको आक्रोशित कोलाहल अनि सवारीका बेफिक्रि हर्न । लाग्छ देशकै पूर्वी सीमाना बनेर ठिङ्ग उभिएको मेची पुल दैनिक यहि अवस्थाबाट गुज्रिरहेको छ । यहाँ कसैलाई कसैको पर्वाह छैन । सब कुरा निर्वाध छन् । सायदै यहाँ सरकार या कुनै निकायको होइन अरु कसैको शासन चल्दैछ !

नेपालमा भन्दा भारतिय बजारमा घरायसी सामान केही सस्तो पर्ने ठानेर मेचीनगर-९ की देवी भण्डारी भारतिय सहर पानीटेंकी जान काँकरभिट्टा पुग्छिन् । पानीटेंकी जाने सिटी सफारी चढ्छिन् । तर, छरितोका लागि सिटी चढेकी उनी मेची पुलको जाम देखेर आश्चर्यमा पर्छिन् । ‘छिटोका लागि सिटी चढेकी त झन् पो ढिलो भयो, पुलको अव्यवस्थित जामले हैरान नै बनायो’, उनी सम्झिन्छीन् ‘बरु हिँडेर जान सजिलो रहेछ ।’

उनको हैरानी यतिमै सिमित हुँदैन । भारतपट्टी बस्ने एसएसबिले सक्कली प्रमाण पत्र (नागरिकता, सवारी चालक अनुमती पत्र) बिना जान दिँदैन । आफ्नो प्रमाण पत्र देखाउन पनि करिब १०-१५ मिनेट लाइनमा बस्नुपर्छ । यी सबै पार गरेपछि पानीटेंकी पुगेकी उनलाई नेपाल कसरी फर्कने ? झन् चिन्ता थपिन्छ । ‘ओहो ! त्यो पुलको जाम….’, उनी वाक्कदिक्क मान्छिन् ।

उनी मात्रै होइन मेची पुल भएर भारत जाने नेपाल आउने सबैको साझा समस्या बनेको छ यो । ‘मेची पुल यात्रुको होइन सिटी सफारीका लागि मात्रै हो’, जस्तै भाष्य सृजना भएको छ । ‘त्यो पुलको जामले त पागलै बनाउँछ, त्यहाँ नियम कानून छैन कि क्या हो ?’, पानीटेंकीबाट सरसामान किनेर फर्किएकी दमककी दिलमाया लिम्बुको प्रश्न छ ‘नियम कानून हुने हो भने यस्तो धेरै जाम कसरी हुन्छ ?’

दिलमाया मात्रै होइन घरायसी सामान किनमेलका लागि जाने हरेक नागरिक यहि प्रश्न गर्दै स्वदेश फर्कन्छन् । तर, जवाफ कसले दिने ? मेची खोला माथि अर्को पनि बडेमानको पुल बनेको छ । एसियन हाइवे अन्तर्गत बनेको उक्त पुल प्राय खाली नै हुन्छ । तर, पुरानो पुलको भने अवस्था विकराल छ । एकजना यात्रुको गुनासो छ ‘मेचीको पुरानो पुल यात्रुका लागि होइन केही पोके व्यापारी र सिटी चालकका लागि बनेको हो ।’

मेचीनगर-६ की अप्सरा खातुनको घरमा पसल छ । पसलका लागि चाहिने सामान किन्न उनीपनि पानीटेंकी नै पुग्छिन् । ‘उता सस्तो पाइन्छ यता महँगो छ त्यसैले सरसामान लिन पारी नै जान्छु’, आफ्नो घुम्ती पसलमा बसेकी उनी भन्छिन् ‘तर पुलको जामले जानै नसकिने भयो, यहीँ काँकरभिट्टाबाट पारी पट्टी पुग्न पनि कहिले त आधा घण्टासम्म लाग्छ ।’

यी तमाम यात्रुले पोखेका यी समस्या नौला होइनन् । तपाँई पनि पछिल्लो समय भारत जानुभएको छ भने पक्कै थाहा छ, मेची पुलको समस्या । केहीसमय अघिसम्म अझ भनौँ कोरोना संक्रमणको अवस्था अघिसम्म यथावत रुपमा सहजै चलिरहेको मेची पुलमा एकाएक यस्तो यात्रु संघर्षको समस्या कसरी आयो ?

मेचीनगर-६ का स्थानीय दिपेश गिरी सिटी सफारीको संख्या अनियन्त्रीत रुपमा एकाएक बढेकाले यस्तो समस्या आएको सुनाउँछन् । ‘सिटी रिक्साको संख्या एकाएक बढ्यो, सिटी रिक्सा आवद्ध हुनुपर्ने संघहरु पनि धेरै स्थापना भए । तर, नियमन र नियन्त्रण प्रभावकारी रुपमा भएन, जसले गर्दा समस्या उत्पन्न भयो’, उनी भन्छन् ।

उनका अनुसार पहिला एउटा मात्रै रहेको सिटी रिक्सा आवद्ध हुनुपर्ने संघ अहिले ५ वटासम्म पुगिसकेको छ । सिटी सफारीको संख्या त झन कति हो कति ? स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय सरोकारवाला संस्थाहरु एकजुट भइ एकद्वार नीति निर्माण गरी कार्यान्वयन गर्ने हो भने मेची पुलको यो कहालीलाग्दो अवस्था सहज हुने उनको ठम्याई छ ।

‘सिटी रिक्साहरुको पार्किङ पनि जतासुकै छ, को कतिखेर जाने कहाँसम्म जाने भन्ने कुनै निगरानी नै छैन । कयौँ सफारीका चालकहरु लाइसेन्सविहिन छन्’ उनी भन्छन् ‘जबसम्म यी सबै कुराको उचित व्यवस्थापन हुँदैन तबसम्म समस्या हट्छ जस्तो मलाई लाग्दैन ।’ उनको भन्दा फरक छैन मेचीनगर-६ कै निरबहादुर कार्की (नेत्र)को बिचार पनि । मेची पुलको बिचित्र अवस्था देखेर हैरान उनी पनि सिटी रिक्साको नियन्त्रण र नियमन अहिलेको सबैभन्दा आवश्यकक्ताको विषय रहेको बताउँछन् ।

‘मेची पुलको यो अवस्थाले पर्यटकले अनेकन सास्ती खेप्नुपर्छ, त्यसैले यस नाकाबाट पर्यटक आवागमन पनि घटेको छ,’ उनी भन्छन् ‘यसले पूर्वीनाकालाई त संकटमा पार्छ नै भविष्यमा सिमावर्ती नेपाली बजारहरु पनि सुनसान बन्छन् ।’ नाकाको यो अवस्थालाई सबै निकायले गम्भिरतापूर्वक लिएर छलफल र बहसबाट निश्कर्षमा पुगी कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

काँकरभिट्टासँगै मेची पुलको यो अस्तव्यस्ततालाई अन्त्य गर्न ट्राफिक प्रहरी सक्रिय भएर लागिरहेको बताउँछन् ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख मनमोहन पौडेल । नाकामा संचालन हुने अधिकांश सिटी रिक्सा चालकको लाइसेन्स नभएको बताउँदै उनी भन्छन् ‘लाइसेन्स नहुनेलाई कारवाही गर्दै सिटी रिक्सा नियन्त्रण गर्ने यो प्रभावकारी उपाय लाग्यो, त्यसैले अहिले हामी सिटी रिक्सालाई कारवाही गर्ने क्रममा लागिरहेका छौँ ।’

मेची पुलमा भइरहेको अस्तव्यस्तताले सिमावर्ती सहर काँकरभिट्टाकै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उनी बताउँछन् । ‘सिटी रिक्साहरु यात्रु बोकेर सतिघट्टा रोडसम्म नै आइपुग्छन् अनि त्यहाँ बाटै बन्द हुने गरी यात्रुवाहक बसको लाइन लाग्छ,’ उनी भन्छन् ‘यस्ता समस्याले काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा नै चुनौती छ ।’

पोके व्यापारीको अड्डा बन्दैछ मेची पुल !

मेची पुलमा भइरहेको अनेकन समस्याको जड एउटा पोके व्यापारीको अस्तव्यस्तता पनि हो । मेची पुलको दक्षिणपट्टीको भागमा पोके व्यापारीको सामानको थाक नै लागेको हुन्छ । भारतबाट ल्याएर मेची पुलमा राखी भन्सार र सुरक्षाकर्मीलाई झुक्याएर नेपाल छिराउने उद्देश्यले मेची पुलमा बसेका पोके व्यापारीका कारण पनि मेची पुल अस्तव्यस्त बनिरहेको छ ।

भारतबाट आएका सिटीले व्यापारीलाई आधा पुलमा नै उतारीदिन्छन् अनि व्यापारीहरु अर्को सिटी रिक्सामा त्यहाँबाट नेपाल आउँछन् । यसरी व्यापारी चढाउँदा, सामान लोड अनलोड गर्दा सिटी रिक्सा आधा पुलमा नै रोकिनुपर्ने हुन्छ । जसले पनि मेची पुलको यो बिचित्रतालाई बढावा दिइरहेको छ ।

पुलमै साटिन्छन् यात्रु

मेची पुलमाथि अनौठो लाग्ने दृष्य हो यो । यहाँ सिटी रिक्साले आधा पुलमै यात्रु साटिदिन्छन् । पानीटेंकीबाट नेपाल आउने सिटी रिक्सा आधा पुल भन्दा वरसम्म मात्र आउँछन् अनि अर्को सिटी रिक्सामा यात्रुलाई पठाइदिन्छन् । बिचरा यात्रु अनाहकमा सिटी फेर्न बाध्य हुन्छन् ।

पानीटेंकीबाट सिटी चढेर नेपाल आएकी मेचीनगर ९ की ज्ञानु मोक्तान सिटीले बिच पुलमै उतारिदिएपछि आक्रोश आवाजमा भन्छिन् ‘यत्रो सामान बोकेर अब कसरी जानु यहाँ त जात्रा नै पो रहेछ ।’

‘घुस’ दिन पोके व्यापारीको हातमै हुन्छ पैसा

सिटी रिक्सा मेची पुलबाट नेपाल प्रवेश गरेपछि पोके व्यापारीले हातमा २० देखि ५० रुपैँया सम्मका नोटहरु तयार पार्छन् । यो अरु कुनै कामका लागि होइन चेकिङ्गका लागि बसेकालाई दिन र भन्सार नतिरी सामान पार गराउनलाई हो । मेची पुल मुखमा देखिने यो दृष्य नौलो होइन । कोहीपनि नागरिक २ घण्टा मात्रै त्यहाँ गएर बस्ने हो भने यस्ता अनेकौँ दृष्य देख्न पाइन्छ ।

नेपाल-भारत सीमा छुट्याउने देशको यो प्रवेशद्धार भारतले बनाइदिएको फराकिलो सडक सहितको ६ लेन पुलले जति मनमोहक र सुन्दर देखिन्छ, नाकामा खटेका सुरक्षा निकाय र भन्सार कर्मचारीबाटै हुने गरेका गलत कर्मले यो नाका त्यति नै ‘बदनाम’ बन्दै गएको छ । पूर्वी नाकामा प्रवेश गर्ने पर्यटक र सर्वसाधारण यात्रीले सास्ती बाहेक केही पाउँदैनन् ।

प्रहरीले सर्वसाधारण र पर्यटकको सामान खानतलासी गर्छ । तर, तस्करलाई आँखाको इसारामा छोडीदिन्छ । खासमा यो नाकाबाट पर्यटकहरु आउन नचाहनुको प्रमुख कारण सुरक्षा निकायबाट भइरहेको सास्ती पनि एक रहेको एक पर्यटन व्यवसायीले बताए । पुरानो मेची पुलबाट शुरु भएको सुरक्षा जाँच करिव सय मिटर आसपास दर्जन ठाउँमा जारी रहन्छ । भन्सारको यात्रु शाखामा भन्सार र सशस्त्रको जाँच हुन्छ । भन्सार वाहिर पुनः नेपाल प्रहरी तैनाथ छ । राजमार्ग दक्षिण प्रहरी, सशस्त्र र भन्सार तीनै निकायको संयुक्त जाँच चौकी छ ।

लागू औषध व्युरोले पनि छुट्टै जाँच गर्छ । रोचक कुरा के भने दर्जन ठाउँमा जाँच चौकी थापेर वसेका भन्सार र सुरक्षा निकायले अहिलेसम्म अवैध र गैरकानुनी रुपमा नेपाल भित्रिएको वस्तु वरामद गरेर भन्सार वुझाएको विरलै छ । भन्सारमा राजश्व संकलन नभएर हैरानी व्यहोरिरहेको छ । तर, नाकावाटै खुलेआम घुस लिएर दिनहँु करोडौको मालवस्तु छाड्न भन्सार कर्मचारी र सुरक्षा निकाय उद्धत देखिन्छन् ।

प्रतिकृया दिनुहोस्