News Portal

काँकरभिट्टामा दुई महिला सम्मानित

रातोपोस्ट संवाददाता
६७ पटक

झापा, २४ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीवार झापाको मेचीनगरमा दुईजना ज्येष्ठ महिलालाई सम्मान गरिएको छ ।

मेचीनगर -६ काँकरभिट्टामा रहेको पूर्वीद्वार महिला समूहले सावित्रा थापा र चन्द्रमाया पनेरुलाई सम्मान गरेको सचिव उर्मिला दुलाल उप्रेतीले जानकारी दिइन् ।
महिलाहरुलाई विभिन्न प्रकारका सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले आयोजना गरिएको तीन दिवसीय नेपाली कागजबाट अगरबत्ती बनाउने तालिमको समापनका अवसरमा उनीहरुलाई सम्मान गरिएको सचिव उप्रेतीले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर -६ का वडाध्यक्ष ललितबहादुर तामाङले दुवैजनालाई सम्मान गरेका थिए ।समापन समारोहमा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष तामाङले ग्रामीण क्षेत्रका महिलाहरुले घरायसी कामबाट बचेको समयको सदुपयोग गर्दै अगरबत्ती बनाउने तालिम सिकेपछि उत्पादन गरेर आर्थिक रुपमा आत्मनिर्भर बन्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

वडा नम्बर- ६ को आर्थिक सहयोगमा सम्पन्न तालिममा १५ जनाभन्दा बढी महिला सहभागी थिए । नगर क्षेत्रका महिलाहरुलाई रोजगारतर्फ उन्मुख बनाउन मेचीनगर नगरपालिका लाग्नुपर्ने वडा अध्यक्ष तामाङको भनाई छ । मेचीनगर नगरपालिका क्षेत्रमा रहेका महिला तथा किशोरीहरुलाई आयआर्जन गर्न सहज गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको आयोजक संस्थाकी सचिव उप्रेतीले जानकारी दिइन् । आर्थिकरुपमा कमजोर भएका महिला तथा किशोरीहरुका लागि आयआर्जन गर्ने सीपको विकास गर्दै घरमै बसेर आयआर्जन गरेर स्वावलम्बी बनाउनको निमित्त अगरबत्ती तालिम निकै फलदायी भएको आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्थाकी अध्यक्ष सविता मिश्रको सभापतित्वमा भएको समापन समारोहमा वडा नम्बर ६ का वडा सदस्य ध्रुव राई, सीमा रसाईलीले पनि बोलेका थिए ।सचिव उर्मिला दुलाल उप्रेतीले सञ्चालन र सदस्य अम्बिका पनेरुले स्वागत गरेको समापन समारोहमा आर्थिक उपार्जन गरी महिलाहरुलाई सवल बनाउनका लागि यस्ता कार्यक्रम नगरपालिका कार्यालयले समेत गर्दै जानुपर्ने तालिमका प्रशिक्षक निर्मला चौहानले बताइन् । प्रशिक्षार्थी रिना खड्काले तीन दिनसम्मको सिकाई अनुभव सुनाउँदै यस्ता तालिम अझै सञ्चालन गर्न आग्रह गरिन् ।

प्रतिकृया दिनुहोस्