News Portal

पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको २ लाख ५० हजार सहयोग

रातोपोस्ट संवाददाता
६० पटक

झापा, २६ फागुन । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा समाजले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच दुई लाख रुपैयाँको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, संस्थापक अध्यक्ष तथा संरक्षक दीनेशकुमार पोखरेल र मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले यस अघि ५० हजार रुपैयाँ उक्त कोषलाई दिएको थियो । त्यो सहित समाजको सहयोग रकम अढाई लाख पुगेको हो ।

समाजका अध्यक्ष ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार सहारा उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । समाजका संस्थापक अध्यक्ष तथा एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक समेत रहेका पोखरेलले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार सहारा उपचार कोषको प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय झापाली समाज र पत्रकार महासंघ झापावीच गर्विलो सम्वन्ध रहेको भन्दै ढुंगाना र पोखरेलले आगामी दिनमा झापाको विकासमा अझ सहकार्यको आवश्यकता औल्याए ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै उनीहरुले प्रशंसा गरेका छन् ।

विश्वका ४० बढी राष्ट्रमा अन्तर्राष्ट्रिय झापाली समाजको शाखा विस्तार भएको छ । समाजले झापामा मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा विविध काम गर्दै आएको छ । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा अन्तर्राष्ट्रिय झापाली समाजप्रति धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन पोखरेलले कोषका लागि ५१ हजार रुपैयाँको चेक प्रदान गरे । उनले कोषमा आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहसचिव अर्जुन राजवंशीले गरेका थिए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ ।

कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सो को घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्