News Portal

विज्ञापन उपलब्ध गराउन माग गर्दै नगरपालिकालाई प्रेस क्लबको मागपत्र, नगरको उही ‘रेडिमेड’ जवाफ

रातोपोस्ट संवाददाता
१८० पटक

मेचीनगर, २८ फागुन । मेचीनगरमा भोलीबाट शुरु हुन लागिरहेको ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८०’ को विज्ञापन उपलब्ध गराउन माग गर्दै मेचीनगर क्षेत्रका संचार माध्यमहरुको छाता संगठन प्रेस क्लब मेचीनगरले मेचीनगर नगरपालिकालाई मागपत्र बुझाएको छ । नगरक्षेत्रमा संचालित सम्पूर्ण संचारमाध्मलाई समेटेर उनीहरुलाई विज्ञापन प्रकाशन प्रशारण गरे बापत उपलब्ध गराउनुपर्ने रकमको दररेट नै जानकारी गराउँदै क्लबले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज मागपत्र बुझाएको हो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगर क्षेत्रमा यत्रो भब्यताका साथ आयोजना हुन लागिरहेको खेल उत्सवमा पनि संचारमाध्यमलाई सम्बोधन नगरेको गुनासो गर्यो । ‘खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले रु. ५३ लाख भन्दा बढीको लगानीमा संचालन हुने यस खेलकुद उत्सवलाई भब्य रुपमा प्रचार प्रसार गरी सफल बनाउन राज्यको चौथो अंग र संचारमाध्यमको सहयोग आवश्यक हुन्छ भन्ने कुरा बिर्सन हुँदैन’, प्रेस क्लबका अध्यक्ष बरालद्वारा हस्ताक्षरित मागपत्रमा भनिएको छ । प्रेस क्लबले नगरपालिकामा मागपत्र बुझाएपनि चित्तबुझ्दो जवाफ भने पाएन । नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानमार्फत विज्ञापन उपलब्ध गराउने नगरले जवाफ दियो ।

संचार प्रतिष्ठानले संचारमाध्यमहरुको नाम र दररेट नै बुझाइसकेकाले सोही अनुरुप विज्ञापन उपलब्ध गराउने नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले बताए । तर, संचारप्रतिष्ठानले कहिले र कति दररेटमा संचारमाध्यमको नाम बुझाएको छ ? नगरका अधिकांश पत्रकारहरुलाई थाहा नै छैन । नगरका संचारमाध्यमहरुको विकासका लागि गठन गरिएको संचार प्रतिष्ठानलाई देखाएर नगरपालिका पन्छिएको यो पहिलो पटक भने होइन । यसअघि पनि प्रतिष्ठानले विज्ञापन उपलब्ध गराउँछ भनेर आश्वासन दिने तर, संचारमाध्यमले रकम भने नपाउने अवस्था थियो । यसबर्ष पनि सोही अवस्था दोहोरिने देखिएकाले प्रेस क्लब मेचीनगर आफै सक्रिय भएर मागपत्र बुझाएको अध्यक्ष बरालले बताए ।

प्रतिकृया दिनुहोस्