News Portal

लोकतन्त्रवादी जनजाति महासंघ झापा – १ को अध्यक्षमा मगर निर्वाचित

रातोपोस्ट संवाददाता
१३८ पटक

झापा, ५ चैत । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ काे अध्यक्षमा राम मगर निर्वाचित भएका छन् ।

आज क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत अध्यक्षमा ७८ मतका साथ युवा नेता मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए ।

अध्यक्ष पदका लागि अर्जुन सुब्बा र मगर प्रतिस्पर्धामा थिए । सुब्बाले ५५ मत प्राप्त गरेको पौडेलले बताए । क्षेत्र नं १ अन्तर्गतका २१ वडाबाट सभापतिसहित कुल १४४ मतदाता चुनिएका थिए । जसमा ११ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षद्वयमा बिक्रम पन्धाक लिम्बु र हरदेव राजवंशी, सचिवमा कविन्द्र श्रेष्ठ र कला श्रेष्ठ तथा सहसचिवमा प्रकाश तामाङ र बालकुमारी श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कुमेत पाहान, विष्णुमाया तामाङ र निर्मल नेम्बाङ चुनिएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खड्ग बहादुर सुब्बा, बिनोद मेचे, हस्त आङ्देम्बे, सुबास गुरुङ, महिला सदस्यमा शशी थापा र मुनामाया राना निर्वाचिन भएका छन् ।

निर्वाचन समितिले नतिजा घोषणा गरे लगत्तै पार्टी कार्यालय पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरु बधाई व्यक्त गरेका थिए । अध्यक्षमा निर्वाचित मगर स्वास्थ्य सेवामा कार्यरत कृयाशील स्वास्थ्यकर्मी हुन् ।

प्रतिकृया दिनुहोस्